जिल्लाहरुमा र मध्य नेपालका काठमाडौँलगायत सहरमा भूकम्पको धक्का बढी महसुस भएको बताउनुभयो । यसको परकम्प अझै आउनसक्ने भएकाले नआत्तित उहाँले सबैलाई अनुरोध गर्नुभयो । “सात रिक्टरको भूकम्प गएकाले यसको परकम्प आइरहन्छ, यसबाट आत्तिनुपर्ने अवस्था छैन । परकम्प बढीमा ४, ५ र ६ रिक्टरसम्मको जानसक्ने भएकाले त्यसले खासै असर गर्दैन”, प्रवक्ता झाले भन्नुभयो ।
भूकम्पबाट हालसम्म नेपालमा कुनै मानवीय तथा भौतिक क्षति नभएको केन्द्रले जनाएको छ । पूर्वी पहाडी जिल्लाका केही घरहरू (पुराना घर) मा सामान्य क्षति पुगेको भए पनि कुनै मानवीय क्षति नभएको प्रवक्ता झाले बताउनुभयो ।
उहाँका अनुसार चीनको दिंगी काउन्टी आसपासमा एक सयभन्दा बढी परकम्प गइसकेका छन् । चार रिक्टरभन्दा माथिका १२ वटा परकम्प गएका छन् । दिंगी काउन्टी नेपालको सङ्खुवासभा र ताप्लेजुङ तथा भारतको सिक्किम राज्यसँग सीमा जोडिएको छ । राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका भूकम्पको केन्द्रविन्दु भएको स्थानको औसत दूरी नेपालबाट ९० किलोमिटर रहेको छ ।
नेपालको कोशी, मधेस, बागमती प्रदेशका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । यसबाहेक कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशमा भने धक्का महसुस नभएको जनाइएको छ । कोशी प्रदेशका सङ्खुवासभा, भोजपुर तेह्रथुम, ताप्लेजुङ, धनकुटा, खोटाङ, ओखलढु¬ङ्गा, सोलुखुम्बे र पाँचधरमा भूकम्पको कडा धक्का महसुस भएको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ । इलाम, झापा, मोरङ र सुनसरीमा भने सामान्य धक्का महसुस भएको छ । हालसम्म कुनै मानवीय क्षति नभएको जनाइएको छ ।
मधेस प्रदेशका जिल्लामा सामान्य धक्का महसुस भएको छ । बागमती प्रदेशका काठमाडौँ उपत्यका र उत्तर तर्फका तिब्बतसँग सीमाना जोडिएका जिल्लामा कडा धक्का/कम्पन महसुस गरिएको तर कुनै मानवीय तथा भौतिक क्षति नभएको केन्द्रले जनाएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले केन्द्रले छदेखि आठ रिक्टर भूकम्पलाई शक्तिशाली भूकम्प भन्ने गरेको छ । नेपालमा विसं २०७२ वैशाख १२ गते ७ दशमलव ६ रिक्टर स्केलको गोरखा भूकम्प गएको थियो ।