सोमबार, पुष ०८, २०८१

‘मन्त्री ज्यू ! प्रविधिको प्रयोग गरी वाग्मतीको पानी पिउनयोग्य बनाउन सकिन्छ’


ललितपुर, २१ मङ्सिरः “मन्त्री ज्यू ! प्रविधिको प्रयोगले वाग्मतीको फोहर पानी पिउनयोग्य बनाउन सकिन्छ”, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ आफूले बनाएको नमूना देखाउँदै इन्जिनियरिङ सङ्कायमा अध्ययनरत विद्यार्थी भने । जवाफमा मन्त्री गुरुङले पनि उनीहरुको प्रसंशा गर्नुभयो । “तपाईंहरुजस्ता युवाहरुको सिर्जनात्मक काम हेर्दा म आफैँ ऊर्जावान् महसुस गरिरहेको छु”, उहाँले भन्नुभयो ।

मन्त्री गुरुङको प्रशंसाले हर्षित विद्यार्थी सक्षम सिलवालले भन्नुभयो, “उहाँले प्रसंशा गरेपछि हामीलाई थप काम गर्ने प्रेरणा मिलेको छ ।” सानेपास्थित सगरमाथा इन्जिनियरिङ कलेजमा इन्जिनियरर्स भल्ग्स्ले आजदेखि आयोजना गरेको तीनदिने ‘अर्विट इन्जिनियरिङ एक्स्पो टु प्वाइन्ट जिरो’को उद्घाटन र अवलोकन गर्नुभएका मन्त्री गुरुङले विद्यार्थीलाई हौसला दिनुका साथै सूचना प्रविधि क्षेत्रमा युवा पुस्ताले गर्नसक्ने सम्भावनाको समेत उजागर गर्नुभयो ।

मन्त्री गुरुङले मन्त्रालय र सरकारले सूचना प्रविधिको विकासका लागि के कस्ता कार्ययोजना बनाउँदै छ भन्नेबारे जानकारी दिनुभयो । उहाँले एक महिनाभित्र आर्टिफिसियल इन्जेलिजेन्स (एआई) प्रविधिबारे प्रभावकारी नीति ल्याउने तयारी भइरहेको बताउँदै सूचना प्रविधिको उपयोगमार्फत कृषि, पर्यटन, अर्थतन्त्रलगायत क्षेत्रमा लाभ पु¥याउने सरकारको आगामी रणनीति रहेको बताउनुभयो ।

नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले इन्जिनियरिङ कलेजका विद्यार्थीलाई हौसला प्रदान गर्न उहाँहरुले सिर्जना गर्नुभएका कार्यको प्रत्यक्ष अवलोकन गरेर सुझाव दिनुभयो । उहाँले अबको युग सूचना तथा प्रविधिको युग भएको बताउँदै युवाले यही क्षेत्रमा आफ्नो भविष्य सुनिश्चित गर्नसक्ने सम्भावना प्रसस्त रहेको जनाउनुभयो ।

एआइ सम्बन्धी नीति अझै बन्न सकेको छैन”, उहाँले भन्नुभयो, “यो क्षेत्रमा अवसरसँगै चुनौती पनि प्रशस्त छन् । तर, यसलाई सही सदुपयोग गर्न जाने देशको अर्थतन्त्रमा ठूलो लाभ उठाउन सकिन्छ ।

नेपाललाई आइटी हब बनाएर सबै क्षेत्रका आइटी सर्जकलाई एकै थलोमा काम गर्ने वातावरण सिर्जना गर्न जरुरी रहेको मन्त्री गुरुङले उल्लेख गर्नुभयो । यसका लागि मन्त्रालयले आइटी सेन्टर निर्माणका लागि जग्गा खोज्ने काम भइरहेको उहाँको भनाइ थियो । “आइटीमा विकास प्रशस्त सम्भावना छ”, उहाँले भन्नुभयो, “हामीले यसका लागि आवश्यक नीति र रणनीति बनाएर अघि बढ्ने तयारी गरिरहेका छौँ ।” उहाँले एक्स्पोमा युवापुस्ताले गरेका कामहरु व्यवहारमा समेत लागू गराउन सुझाव दिनुभयो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading