२९ कात्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले दुई दिनमा १२ जना बालबालिकाको उद्धार गरेको छ । कामपाले गत मङ्गलबार र बुधबार १२ जना बालबालिकालाई श्रम र असुरक्षित बालगृहबाट उद्धार गरेको हो । मङ्गलबार वडा नंं १ मा रहेको खाजा घरबाट जोखिमपूर्ण श्रममा भेटिएका १४ वर्षीय बालकलाई उद्धार गरिएको छ । बुधबार वडा नं २ खुर्सानीटारमा रहेको बेसहारा असहाय बाल सुधार सङ्घ नामक संस्थाका राखिएका १० जना बालक र एक जना बालिकाको उद्धार गरिएको हो ।
“उद्धार भएका बालबालिकाको पारिवारिक लेखाजोखा र मनोविमर्श गरिनेछ”, उद्धारमा खटिनुभएका बाल संरक्षण अधिकृत सुनिता शाहले भन्नुभयो, “उद्धार गरिएका बालबालिकालाई लेखाजोखा र मनोविमर्शपछि प्राप्त हुने मनोसामाजिक प्रतिवेदनका आधारमा पारिवारिक पुनःमिलन तथा वैकल्पिक हेरचाहको प्रबन्धमध्ये कुनमा लैजाने भन्ने निर्णय हुनेछ ।”
कामपाको हटलाइन नम्बरमा बालबालिकाको नाजुक अवस्था रहेको, उनीहरूका नाममा अवैध चन्दा सङ्कलन लगायत काम भइरहेको सूचना प्राप्त भएको थियो । प्राप्त सूचनाका आधारमा बालबालिकाको सद्धार गरिएको कामपाको भनाइ छ ।
कामपा वडा नं २ मा दर्ता देखिएको बेसहारा असहाय बाल सुधार सङ्घले वडा नं. ४ मा समेत कार्यालय स्थापना गरेर रोजगार केन्द्र मार्फत स्वयंसेवक कर्मचारी भर्ना गर्ने, गैरकानुनी रूपमा चन्दा उठाउने गरेको, सङ्कलित रकम अपारदर्शी परिचालन भएको, कार्यालयका कर्मचारीको भूमिका शङ्कास्पद देखिएको भन्ने सूचना थियो । त्यसका आधारमा अनुगमन गर्दा, मासिक रु २२ हजार तलब दिने भनेर १४ जना कर्मचारी भर्ना गरिएको पाइयो ।
उनीहरू प्रत्येकलाई फिल्डमा खटाउने गरिएको, फिल्डबाट दैनिक रु दुई हजार एक सय अनिवार्य सङ्कलन गर्नुपर्ने दायित्व दिएको बताइएको छ । यसरी गतिविधि सञ्चालन गर्ने शङ्कास्पद व्यक्तिलाई महानगरीय प्रहरी वृत्त, महाराजगञ्जबाट खटिएको प्रहरीको टोलीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । यो संस्था आव २०७६/७७ देखि कामपामा नवीकरण छैन । अनुमति नलिइ गैरकानुनी रूपमा बालगृह सञ्चालन गरेको पाइएपछि राष्ट्रिय बाल अधिकार परिषद्ले विस २०७२ देखि अनुगमन गरेर संस्थामा रहेका बालबालिकालाई उद्धार गरेर गृह सञ्चालनममा रोक लगाएको थियो ।

कामपाले गएको वर्ष बाल संरक्षण तथा बालबालिका सम्बन्धी कार्यविधि, २०८० जारी गरेपछि पहिलो चरणमा उद्धार गरिएका बालबालिकाको व्यवस्थापन गरिसकेको छ । दोस्रो चरणको बाल उद्धार कार्यक्रममा कामपाको हटलाइन नम्बर ११८० मा प्राप्त भएका सूचनाका आधारमा काम थालेको छ । पहिलो चरणमा २४ जना बालक र २७ जना बालिका गरी ५१ जना बालबालिकाको उद्धार भएको थियो । उद्धार गरिएकामध्ये परिवारमा फर्काउन सम्भव भएकालाई परिवारमा पुनःस्थापना गरिएको छ भने परिवारमा फर्काउँदा सम्भव नभएका बालबालिकालाई शिक्षा, स्वास्थ्य उपचारसहित दीर्घकालीन स्याहारको प्रबन्ध गरिएको छ ।
उद्धार गरिएका ५१ जनामध्ये २४ जना बालबालिकालाई परिवारमा पुनःस्थापना गरिएको छ । ‘बालापनको रक्षा, भविष्यको सुरक्षा’ भन्ने नारा राखेर बालबालिका लक्षित कार्यक्रमका लागि यस आर्थिक वर्षमा कामपाले रु चार करोड ७५ लाख बजेट विनियोजन भएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

















