मङ्गलबार, पुष ०९, २०८१

जलवायुको असरबारे ध्यानाकर्षण गर्न कालापत्थरमा पत्रकार सम्मेलन


दिगो पर्यटनका लागि हिमाल बचाऔँ’ नाराका साथ पहिलो संस्करणको ‘एभरेष्ट टुरिजम अवार्ड, २०२४’ आयोजना हुने भएको छ ।

आज सर्वोच्च शिखर सगरमाथाको काखमा रहेको कालापत्थर (५,६५३ मिटर उचाइ)मा आयोजित पत्रकार सम्मेलनमा आयोजक एएमएस म्युजिक एण्ड इन्टरटेन्मेन्ट प्रालिका अध्यक्ष सत्यकला तामाङ लामाले अवार्ड कार्यक्रम आगामी डिसेम्बरमा काठमाडौँमा हुने जानकारी दिनुभयो ।

मुलुकको पर्यटन क्षेत्रको विकास, प्रचारप्रसार तथा प्रवर्द्धनमा उल्लेख्य योगदान पु¥याउनुहुने राष्ट्रिय तथा अन्तर्र्राष्ट्रिय क्षेत्रका विभिन्न व्यक्ति तथा संस्थालाई मूल्याङ्कनका आधारमा सम्मान तथा अवार्ड वितरण गरिने उहाँले बताउनुभयो । उहाँका अनुसार कूल ४० देखि ५० वटा विधामा अवार्ड प्रदान गरिनेछ ।

अवार्ड कार्यक्रममा राष्ट्रिय तथा अन्तर्र्राष्ट्रिय कलाकारहरुको प्रस्तुतिसमेत रहने अध्यक्ष लामाले जानकारी दिनुभयो । उहाँका अनुसार अवार्ड वितरण गर्न सम्बन्धित विषयविज्ञ सम्मिलित एक मूल्याङ्कन एवं छनोट समिति गठन भइसकेको छ ।

उहाँले पछिल्ला केही वर्र्षयता जलवायु परिवर्तनको प्रभाव हिमाली क्षेत्रमा परिरहेकाले यसले पर्यटन क्षेत्रमा पनि असर गरिरहेकाले बताउँदै यस विषयमा विश्व समूदायको ध्यानाकर्षण गराउन कालापत्थरमा पत्रकार सम्मेलन आयोजना गरिएको जानकारी दिनुभयो ।

पाँच हजार छ सय ५३ मिटरको उचाइमा आयोजित यो सम्भवतः पहिलो पत्रकार सम्मेलन हो, यहाँबाट हामीले विश्वलाई जलवायु परिवर्तनको अवस्थाबारे बुझाउने अपेक्षा गरेका छौँ”, अध्यक्ष लामाले भन्नुभयो ।

कम्पनीका प्रबन्ध निर्र्देशक फुर्बा ग्याल्बो मोक्तान (थुप्तेन)ले जलवायु परिवर्तनले सबैभन्दा बढी हिमाली क्षेत्र प्रभावित भएको उल्लेख गर्दै हिमाल बचाउनका लागि ढिला गर्न नहुनेमा जोड दिनुभयो ।

जलवायु परिवर्तनबाट विशेष गरी मुलुकको पर्यटन क्षेत्रमा ठूलो असर परिरहेको छ, हिमालबाट हिउँ हराउन थालेको छ, सेता हिमाल काला पहाडमा परिणत हुन थालेका छन् । यो क्षेत्रलाई बचाउन सकिएन भने पर्यटन क्षेत्रलाई बचाउन सकिँदैन, आज यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत यो सन्देश हामी विश्व समुदायलाई दिन चाहन्छौँ”, उहाँले भन्नुभयो ।

प्रबन्ध निर्र्देशक मोक्तानले जलवायु परिवर्तनको असरका कारण सदियौँदेखि जमेका हिमतालहरु फुट्ने क्रम सुरु भएको, अधिक र न्यून वर्षा हुन थालेको, बाढीपहिरो जस्ता प्राकृतिक विपद् बढ्ने क्रममा रहेको उल्लेख गर्नुभयो ।

लुक्लाका पर्यटन व्यवसायी, समाजसेवी तथा स्टार युथ क्लबको केन्द्रीय अध्यक्ष एवं समाजसेवी नाम्गेल शेर्पाले जलवायु परिवर्तनबाट यो क्षेत्र सबैभन्दा बढी प्रभावित भएको बताउनुभयो । उहाँले भन्नुभयो, “गत वर्षको कात्तिकमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले यही क्षेत्रमा आएर जलवायु परिवर्तनले पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाउनुभएको थियो । यस वर्ष हामी खुम्बुवासीले यसबारे आवाज उठाएका छौँ ।

पत्रकार सम्मेलनमा उपस्थित आरोही मिङ्मा तेञ्जी शेर्पाले आफू १७ वर्षदेखि हिमालमा काम गरिरहेको बताउँदै जलवायु परिवर्तनले हिमाली क्षेत्रमा असर देखिन थालेको उल्लेख गर्नुभयो ।

मैले सन् २००७ मा काम सुरु गर्दा र अहिलेको अवस्थामा धेरै फरक देख्न सकिन्छ । जलवायु परिवर्तनका कारण मौसम अस्थिर भएको छ । केही समयअघि खुम्बु क्षेत्रको थामेमा ठूलो विपद् आयो, पहिले हिउँमा आरोहण गर्ने गरेकामा अहिले ढुङ्गा र माटोमाथि आरोहण गर्नुपरेको छ । तसर्थ हिमाल जोगाउन र जलवायु परिवर्तनका असर न्यूनीकरणमा हातोमालो गर्न विश्व समुदायको ध्यानाकर्षण हुन जरुरी छ”, उहाँले भन्नुभयो ।

वरिष्ठ पर्यटन व्यवसायी मिङ्मा दोर्जी शेर्पा र पर्यटन व्यवसायी एवं आरोही मिङ्मा शेर्पासँगको सहकार्यमा एएमएस म्युजिक एण्ड इन्टरटेन्मेन्टले अवार्ड आयोजना गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । कम्पनीले हालसम्म स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गर्दै आएको जनाएको छ । हालसम्म कम्पनीले जापान, मालदिभ्स, दुबईमा कार्यक्रम गरिसकेको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading