12/21/2025, 11:01:57
आइतबार, पुष ०६, २०८२

त्रिवि दीक्षान्त समारोह : उनानब्बे हजार योग्य, सोह्र हजार सहभागी, विद्यार्थीको रुचि घट्दै

समारोहमा सहभागी हुन फाराम भरेका विद्यार्थीलाई विश्वविद्यालयका उपकुलपतिको हस्ताक्षर भएको प्रमाणपत्र प्रदान गरिन्छ । समारोहमा सहभागी हुँदा विद्यार्थीले गाउन र स्कार्फ लगाउनु पर्छ । जुन विद्यार्थीले निश्चित रकम बुझाएर र धरौटी रकमसमेत राखेपछि परीक्षा नियन्त्रण कार्यालयबाट वितरण हुन्छ । तर फाराम भरेकामध्ये पनि सबै जना समारोहमा सहभागी हुँदैनन् । यस पटकको दीक्षान्तमा भाग लिन फाराम भरेकामध्ये अहिलेसम्म आठ हजारले मात्रै परीक्षा नियन्त्रण कार्यालयबाट गाउन र स्कार्फ लिएका छन् ।


काठमाडौँ, पुस ६ गते । त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहप्रति विद्यार्थीको रुचि घट्दै गएको देखिएको छ । दीक्षान्त समारोहमा सहभागी हुन योग्य विद्यार्थीको तुलनामा समारोहमा सहभागी हुनका लागि आवेदन दिएका विद्यार्थी सङ्ख्यालाई तुलना गर्दा यस्तो देखिएको हो ।

त्रिविले पुस १० गते काठमाडौँमा ५१ दीक्षान्त समारोह आयोजना गर्दै छ । समारोहमा २०८१ असार १ देखि २०८२ जेठ ३१ गतेसम्ममा अध्ययन पूरा गरेका विद्यार्थी सहभागी हुन पाउने छन् । त्रिविका अनुसार दीक्षान्त समारोहका लागि विभिन्न तहका परीक्षा उत्तीर्ण गरेका ८९ हजार १९१ जना विद्यार्थी योग्य भएका छन् ।

तर दीक्षान्त समारोहमा सहभागी हुनका लागि १६ हजार ३८० जना विद्यार्थीले मात्रै परीक्षा नियन्त्रण कार्यालयमा औपचारिक आवेदन दिएका छन् । त्रिविले गत वर्ष आयोजना गरेको ५० औँ दीक्षान्त समारोहमा पनि ७४ हजार १४९ जना परीक्षार्थी योग्य भएकोमा १४ हजार ३०८ जनाले मात्रै समारोहमा सहभागी हुनका लागि फाराम भरेका थिए ।

त्यस्तै दुई वर्षअघि आयोजना गरिएको ४९ औँ दीक्षान्त समारोहमा पनि ७३ हजार ७४९ जना योग्य भएकोमा १२ हजार ४१९ जनाले मात्रै फाराम भरेका थिए । समारोहमा योग्य विद्यार्थीमध्ये करिब २० प्रतिशतले मात्रै समारोहमा सहभागी हुनका लागि आवेदन दिनुलाई दीक्षान्तप्रति विद्यार्थीको आकर्षण घट्दै गएको विश्लेषण गरिएको छ । तर त्रिविका अधिकारीहरू भने मुलुकका विभिन्न स्थानमा छरिएर रहेका क्याम्पसमा पढेका विद्यार्थीका लागि सङ्घीय राजधानीमा मात्रै दीक्षान्त समारोह गरिएको हुनाले सबैलाई अपायक परेको र त्यसैको प्रभाव समारोहमा देखिने गरेको दाबी गर्नुहुन्छ ।

त्रिविका रजिस्ट्रार प्राडा केदार रिजालले भन्नुभयो, “दीक्षान्तका लागि योग्य भएकामध्ये केही विद्यार्थी विदेश गएका होलान्, केही रोजगारीमा पनि व्यस्त भएर फाराम भर्न नआएका हुन सक्छन् । तर थोरै विद्यार्थीले फाराम भर्दैमा दीक्षान्तमा रुचि देखाएनन् भन्न अलि मिल्दैन ।

समारोहमा सहभागी हुन फाराम भरेका विद्यार्थीलाई विश्वविद्यालयका उपकुलपतिको हस्ताक्षर भएको प्रमाणपत्र प्रदान गरिन्छ । समारोहमा सहभागी हुँदा विद्यार्थीले गाउन र स्कार्फ लगाउनु पर्छ । जुन विद्यार्थीले निश्चित रकम बुझाएर र धरौटी रकमसमेत राखेपछि परीक्षा नियन्त्रण कार्यालयबाट वितरण हुन्छ ।

तर फाराम भरेकामध्ये पनि सबै जना समारोहमा सहभागी हुँदैनन् । यस पटकको दीक्षान्तमा भाग लिन फाराम भरेकामध्ये अहिलेसम्म आठ हजारले मात्रै परीक्षा नियन्त्रण कार्यालयबाट गाउन र स्कार्फ लिएका छन् । विश्वविद्यालयले दीक्षान्त समारोहको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

यस पटकको समारोहमा सन् २०१५ मा भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार विजेता ताकाआकी काजिता प्रमुख अतिथिका रूपमा आउने त्रिविका उपकुलपति प्राडा दीपक अर्यालले बताउनुभयो । काजिता जापानको टोकियो विश्वविद्यालयका प्राध्यापक हुनुहुन्छ । दीक्षान्त समारोह त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना गरिने छ । समारोहमा एक जना विद्यार्थीले आफ्नो अभिभावक वा साथीसहित दुई जनालाई साथमै लिएर जान पाउने व्यवस्था गरिएको छ । जस अनुसार फाराम भरेका १६ हजार विद्यार्थी र उनीहरूले साथमै ल्याउने दुई जनासमेत हिसाब गर्दा न्यूनतम ४० हजार जना समारोहमा सहभागी हुने त्रिविले आकलन गरेको छ ।

यसका लागि नेपाल प्रहरी, सेना, ट्रफिक प्रहरी तथा काठमाडौँ महानगरपालिकाको समेत समन्वयमा बहुतहको सुरक्षा प्रबन्ध गरिएको त्रिविले जनाएको छ ।

blog

अर्को वर्ष पोखरामा पनि

एकै ठाउँमा दीक्षान्त गर्दा सबै विद्यार्थी उपस्थित हुन नसकेको र उपस्थित हुने विद्यार्थीले पनि सास्ती खेप्नु परेको जनाउँदै त्रिविले अर्को वर्ष पोखरामा पनि दीक्षान्त समारोह आयोजना गर्ने तयारी गरेको छ ।

उपकुलपति प्राडा दीपक अर्यालले पोखरामा पनि समारोह गर्ने अन्तिम तयारी गरेको बताउँदै त्यहाँ कुन कुन क्षेत्र वा जिल्लाका विद्यार्थी सहभागी हुन पाउने भन्ने विषयमा भने निर्णय हुन बाँकी रहेको बताउनुभयो । दीक्षान्त समारोहमा कुलपतिको हैसियतमा प्रधानमन्त्री र सहकुलपतिको हैसियतमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पनि जानुपर्ने व्यवस्था रहेकाले धेरै ठाउँमा समारोह गर्न झन्झटिलो भएको त्रिविको भनाइ छ । अर्को वर्षदेखि भने कुनै एक जना मात्रै पदाधिकारी गएर भए पनि फरक फरक ठाउँमा समारोह गर्ने तयारी गरिरहेको पनि उपकुलपति अर्यालले जानकारी दिनुभयो ।