भादगाउँ, पुस ३ : भक्तपुरमा आजदेखि तीन दिने ‘घरेलु उत्पादन प्रवर्द्धन मेला–२०८२’ सुरु भएको छ । भक्तपुर घरेलु तथा साना उद्योग सङ्घले उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरको सहकार्यमा स्थानीय नःपुखुः परिसरमा आयोजित मेलामा ४७ वटा प्रदर्शनी कक्ष रहेका छन् । मेला आगामी शनिबारसम्म सञ्चालन हुने छ ।
मेलामा भक्तपुरको पहिचान बोकेको कालो भादगाउँले टोपी, हाकु पटासी, ताइचिन चिउरा, सेरामिक्सका सामग्री, ख्वापा (मुकुन्दो), तितौरा, च्याउका परिकार, विभिन्न हस्तकलाका सामग्री, नर्सरी, ढाका कपडाका उत्पादन, पश्मिना र ऊनका सामग्री, नेवारी खाजाका स्टल रहेका छन् । मेलामा सुपथ मूल्यका साथै छुटको व्यवस्था गरिएको मेला आयोजक सङ्घका अध्यक्ष श्यामसुन्दर श्रेष्ठले जानकारी दिनुभयो । स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरणका लागि मेला आयोजना गरिएको उहाँले बताउनुभयो ।
मेलाको उद्घाटन गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरलाई परम्परागत कला संस्कृति, सम्पदा र शिक्षाको केन्द्र बनाउनुका साथै स्थानीय र घरेलु उत्पादनको केन्द्रको रुपमा पनि विकास गर्ने लक्ष्य रहेको बताउनुभयो । उहाँले स्थानीय उत्पादनलाई बाह्य र आन्तरिक पर्यटन उद्योगसँग जोडेर आयआर्जन वृद्धिका लागि नगरपालिकाले यस्तो मेला महोत्सवका कार्यक्रम आयोजना गर्दै आइरहेको जानकारी गराउनुभयो ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले मेला महोत्सवका नाममा आयातित वस्तुको व्यापार गर्ने, स्थानीय उत्पादनलाई स्थान नदिने, गीत सङ्गीतका मनोरञ्जनात्मक कार्यक्रममा पनि विदेशी सङ्गीतलाई प्राथमिकता दिने प्रवृत्ति रहेको बेला घरेलु उत्पादन प्रवद्र्धन मेला पृथक पाएको बताउनुभयो ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घका उपाध्यक्ष चन्दनकृष्ण श्रेष्ठले २०४६ सालको राजनैतिक परिवर्तनपछि घरेलु उद्योगी व्यवसायी एकजुट भएर सङ्घ स्थापन गरी नेपालमा रहेका घरेलु उद्योगको प्रवद्र्धनका साथै बजारीकरणको कार्य गर्दै आइरहेको बताउनुभयो । उहाँले नेपालमा चार लाख घरेलु उद्योग व्यवसायी रहेको पनि जानकारी दिनुभयो ।
कार्यक्रममा भक्तपुर उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरका प्रमुख रामप्रसाद कुस्माले भक्तपुरका उद्योग खोल्ने भन्दा पनि बन्द गर्ने क्रम बढेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले भक्तपुरमा वार्षिक उद्योग दर्ताको तुलनामा खारेज गर्ने अनुपात बढेको बताउनुभयो । उहाँले घरेलु उद्योगले समयानुसार प्रविधि मैत्री हुन नसक्नु, उत्पादनको लागत घटाउन नसक्नु, उचित बजारको अभाव जस्ता कारणले घरेलु उद्योग बन्द हुने क्रम बढेको बताउनुभयो ।
भक्तपुर घरेलु तथा साना उद्योग सङ्घका पूर्वअध्यक्ष एवम् सङ्घले सञ्चालन गरिरहेको ‘गो–लोकल’ कार्यक्रमका संयोजक वीरेन्द्र जतिले सङ्घले भक्तपुरको मौलिक उत्पादन कालो भादगाउँले टोपी, जुजु धौ, ताइचिन चिउरा, रक्सी लगायतका १५ उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले ‘गो–लोकल’ कार्यक्रम सञ्चालन गर्दै आइरहेको जानकारी गराउनुभयो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










