12/18/2025, 19:46:43
बिहिबार, पुष ०३, २०८२

प्रकृति संरक्षण कोषको सदस्य सचिवमा नरेश सुवेदी नियुक्त


काठमाडौँ, पुस ३  : राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिव पदमा संरक्षणविद् डा. नरेश सुवेदी नियुक्त भएका छन् । प्रकृति संरक्षण कोष ऐन, २०३९ मा भएको व्यवस्था बमोजिम बोर्डले उनलाई आज सदस्य सचिव पदमा नियुक्त गरेको हो ।

२५ वर्षदेखि कोषको सेवामा निरन्तर कार्यरत सुवेदी यसअघि कोषको वरिष्ठ निर्देशक पदको जिम्मेवारीमा थिए । पदीय जिम्मेवारीका क्रममा सुवेदीले नेपालको प्रकृति संरक्षण र जैविक विविधताको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका छन् । उनकै पहल र सक्रियतामा नेपाल सरकारले ललितपुरस्थित सदर चिडियाखानाको व्यवस्थापन आगामी ३० वर्षका लागि पुनः राष्ट्रिय प्रकृति संरक्षण कोषलाई नै जिम्मा दिने निर्णय गरेको थियो ।

यसका साथै, उनको नेतृत्वदायी क्षमता र अन्तर्राष्ट्रिय समन्वयका कारण विभिन्न दातृ निकायबाट संरक्षण केन्द्रित दुई सय भन्दाबढी परियोजनाहरू कोषमा भित्रिएका छन् ।

यसैगरी प्राज्ञिक र अनुसन्धानको क्षेत्रमासमेत डा सुवेदीको उपस्थिति प्रभावशाली रहेको कोषले जनाएको छ । उनका हालसम्म करिब दुई सयभन्दा बढी अनुसन्धानमूलक कृतिहरू प्रकाशित भइसकेका छन् ।