12/14/2025, 21:49:59
आइतबार, मङि्सर २८, २०८२

राजधानीमै छैन पर्यटक बसको बसपार्क


काठमाडौँ, मङ्सिर २८ गते ।  मुलुकको सङ्घीय राजधानी काठमाडौँमा पर्यटक बसका लागि छुट्टै बसपार्क नहुँदा सडकबाट गुड्न बाध्य भएका छन् ।

मुलुकको आर्थिक मेरुदण्डको मुख्य आधारका रुपमा रहेको पर्यटक बसका लागि व्यवस्थित बसपार्क नहुँदा काठमाडौँ महानगरपालिका–१६ सोह्रखुट्टेस्थित सडकबाट पर्यटक बस गुड्न बाध्य भएका हुन् ।

विगत तीन दशकदेखि काठमाडौँको कान्तिपथ सडकलाई पर्यटक बसपार्कका रुपमा सञ्चालन गर्दै आए पनि विसं २०७५ असार १६ गतेदेखि उक्त बसलाई काठमाडौँ महानगरपालिका–१६ सोह्रखुट्टेको सडकबाट सञ्चालन गरिएको थियो ।

महानगरपालिका, ट्राफिक प्रहरीलगायतले कान्तिपथ क्षेत्रमा धेरै भीडभाड हुने भएकाले उक्त क्षेत्रबाट पर्यटकीय बसपार्क हटाएर सोह्रखुट्टे सडकमा सारेको थियो ।

कान्तिपथबाट सोह्रखुट्टे सडकमा पर्यटक बसपार्क सरेको सात वर्ष बितिसक्दा पनि पर्यटक बसपार्कका लागि छुट्टै स्थान नहुँदा सडकबाटै पर्यटक बस गुड्न बाध्य भएका छन् ।

हाल पर्यटक बस काठमाडौँदेखि पोखरा, चितवनको सौराहा, लुम्बिनी  र जनकपुरलगायतका प्रमुख पर्यटकीयस्थलमा स्वदेशी तथा विदेशी पर्यटक लैजानका लागि सञ्चालन हुँदै आएका छन् ।

सोह्रखुट्टेबाट चल्ने पर्यटकीय बस बिहान ७ः०० बजे स्वदेशी तथा विदेशी पर्यटक बोकेर पोखरा, सौराहा, लुम्बिनी र जनकपुर जाने गरेका छन् । टुरिष्ट बस एशोसिएसन अफ नेपाल (टिवान)का अध्यक्ष भीष्म न्यौपाने सरकारले पर्यटक बसलाई उपेक्षा गरेको बताउनुहुन्छ ।

“सरकारले पर्यटनमार्फत मुलुकको अर्थतन्त्रलाई उकास्ने भनिरहेको छ, तर पर्यटक बसका लागि पार्किङ गर्न छुट्टै बसपार्क नहुँदा समस्या परेको छ”,  उहाँ भन्नुहुन्छ ।

राज्यले पर्यटकीय बसपार्कले पहिलो प्राथमिकता दिनुपर्ने उहाँको भनाइ छ । विश्वका धेरै मुलुकले पर्यटन क्षेत्रको विकासका लागि पर्यटक बोक्ने सवारीसाधनलाई छुट्टै बसपार्कका रुपमा विकास गरेको भए पनि नेपालमा भने विकास नगरेको अध्यक्ष न्यौपाने बताउनुहुन्छ ।

कान्तिपथ सडकबाट बसपार्क हटाएर सोह्रखुट्टे लगे पनि सरकारले राजधानीको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको ठमेल क्षेत्र वरपर नै बसपार्क निर्माण गर्नुपर्ने अध्यक्ष न्यौपानेको भनाइ छ ।

हाल काठमाडौँबाट पोखरा, चितवनको सौराहा, लुम्बिनी र जनकपुरका लागि झण्डै १०० पर्यटकीय बस आवतजावत गर्दै आएका छन् । उक्त सवारीसाधनले दैनिक दुई हजारदेखि तीन हजारको हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटकलाई गन्तव्यस्थलमा पुर्याउँदै आएका छन् ।

टिवानका पूर्वध्यक्ष एवं बाबा एड्भाञ्चर प्रालिका सञ्चालक प्रह्लाद लोहनी पर्यटक बसको बसपार्क निर्माणका लागि टिवानले पहिलेदेखि नै सम्बन्धित निकायमा झकझक्याउँदै आए पनि हालसम्म बसपार्क निर्माण हुन नसकेको बताउनुहुन्छ ।

सरकारले पर्यटक बसपार्क निर्माणका लागि आवश्यक चासो नदिँदा बसपार्क बन्न नसकेको उहाँको भनाइ थियो ।

व्यवसायीले हाल बिहान ५ः०० देखि ७ः०० बजेसम्म सोह्रखुट्टे सडकमा पर्यटकीय बस पार्किङ गरेर यात्रु बोक्दै आएका छन् भने रातको समयमा विभिन्न ग्यारेजमा शुल्क तिर्न बाध्य छन् ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..