बिजुवार, मङ्सिर २४ : प्युठानको स्वर्गद्वारी पुग्ने जोकसैको ध्यान छेउछाउका खेतमा रायोको भारी बोकेर उक्लिँदै गरेका मानिसको दृश्यले तान्छ । असोज–कात्तिकदेखि माघसम्म यहाँका बारी एकनासले हरिया हुन्छन् । ठुलो पात, बाक्लो बोट र डाले घाँसको आँठो जस्तो बाँधेर बोक्नुपर्ने भारीले स्वर्गद्वारीको ‘पास्सी रायो’ ले छुट्टै पहिचान बनाइसकेको छ ।
स्वर्गद्वारी आश्रमका प्रमुख प्रशासकीय अधिकृत हरि अधिकारीले यहाँको माटो, हावापानी र गोबरले साग राम्रो उत्पादन हुने बताउनुभयो । उहाँले भन्नुभयो, “एक पात नै पाँच/सात जनाको परिवारलाई पुग्ने गरी उत्पादन हुन्छ ।” उहाँका अनुसार बारीमा उत्पादन हुने सागको भारी बनाएर ओसार्नु पर्छ ।
गोठको दक्षिणतर्फ फैलिएको १९ रोपनी क्षेत्रफलमा रायोको व्यवस्थित खेती भइरहेको छ । आश्रमको मेसमा दैनिक करिब सात सय जनालाई खाना पकाइने भएकाले साग यहाँ अनिवार्य परिकार हो । अधिकारीले भन्नुभयो, “हाम्रो भान्सामा प्रत्येक दिन साग पक्छ । उत्पादन पर्याप्त भएकाले बजारतिर निर्भर हुनु पर्दैन ।”
.jpg)
साग खेतीका लागि आश्रमले चार जना महिलालाई ज्यालादारीमा राखेको छ । उनीहरूले बारीको स्याहार, पानी सिँचाइ, टिपाइदेखि सागको भारी ओसार्नेसम्मको काम गर्छन् । बिहान सबेरै घामसँगै बारीमा काम सुरु हुन्छ र बेलुकीसम्म चलिरहन्छ । २० वर्षदेखि आश्रममा साग रोप्नेदेखि भान्सासम्म काम गर्दै आउनुभएकी कोचिवाङकी निमा खत्रीले भन्नुभयो, “साग टिप्दा पात नै यति ठुलो हुन्छ कि भारी बनाउनैपर्ने हुन्छ । पाहुनाले अचम्म मानेर सोध्छन्, “यो साग हो कि घाँसको भारी ?”
स्वर्गद्वारीको गौशालामा पालिएका गाईको गोबरले बारी मलिलो बनाउँछ । यही कारणले यहाँको साग स्वादिलो र पोसिलो हुने स्थानीयको बुझाइ छ । स्थानीयका लागि भने यो दृश्य सामान्य भइसकेको छ । खेतमा उम्रिएको साग भारी बनाएर भान्सामा पुग्छ, अनि पाहुनासँग फेरि गाउँसम्म कोसेली बनेर फर्किन्छ ।
स्थानीय पनि सागको मौसमको लाभ उठाउँछन् । स्वर्गद्वारी नगरपालिकाका १, २ र ३ का उपल्लो क्षेत्रका बासिन्दा गाईका लागि खर लिएर आश्रम पुग्छन् र साग बोकेर फर्कन्छन् । स्वर्गद्वारीमा बर्सौंदेखि चलिरहेको सामुदायिक परम्परा यही हो ।
– सलिम मियाँ
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










