12/10/2025, 05:14:07
मङ्गलबार, मङि्सर २३, २०८२

खानेपानी तथा सरसफाइ डिभिजन प्रमुखसहित पाँच जना विरुद्ध ११ लाख बढीको भ्रष्टाचार मुद्दा


काठमाडौँ, मङ्सिर २३ : खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, दाङका तत्कालीन प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

ठेक्कामा बढी कबोल रकम गरेर दिएको र ठेक्काको मुचुल्का नपठाएको उजुरीका आधारमा अनुसन्धान गर्दा तत्कालीन डिभिजन प्रमुख भोलाप्रसाद थापा, इन्जिनियर वसन्तकुमार दुलाल, लेखापाल मनोज विष्ट, अधिकृत माधवप्रसाद तिमिल्सेना, सब इन्जिनियर नुतन आचार्यविरुद्ध अख्तियारले मङ्गलबार विशेष अदालत, काठमाडौंँमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ का दफा १७ बमोजिम कसुर भएका हुँदा ११ लाख ११ हजार आठ सय ४४ बिगोसहित भ्रष्टाचार मुद्दा दायर भएको हो ।

अख्यितयारले जय काली ड्रिलिङ्ग्स कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रा.लि र सोका प्रबन्ध निर्देशक शेखर शर्माविरुद्धसमेत सोही बिगो बराबर मुद्दा दायर गरेको छ । ०८०/०८१ मा भएको ठेक्कामा हिनामिना भएको उजुरीका आधारमा अनुसन्धान अगाडि बढाएको आयोगले मङ्गलबार भ्रष्टाचार मुद्दा दायर गरेको हो ।