12/09/2025, 10:47:01
मङ्गलबार, मङि्सर २३, २०८२

गौर हत्याकाण्ड प्रकरण ‘अनुसन्धान नगर्ने छुट हुन्न’


काठमाडौँ, मङ्सिर २३ : सर्वोच्च अदालतले फौजदारी मुद्दा अनुसन्धानका लागि घटनाबारे जाहेरी परेपछि अनुसन्धान तहकिकात कार्य नगरी बस्ने छुट नहुने व्याख्या गरेको छ ।

दुई दशकअघिको गौर हत्याकाण्ड अनुसन्धानका विषयमा दायर रिटमा अनुसन्धानका लागि परमादेश जारी गर्दै सर्वोच्चले जाहेरीपछि यथाशीघ्र प्रमाण संरक्षणसमेत हुनुपर्ने व्याख्या गरेको छ । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले भदौ २ गते जारी गरेको परमादेशको पूर्णपाठमा यस्तो उल्लेख छ । जाहेरी परेपछि अनुसन्धान गर्ने निकाय निन्द्रामग्न अवस्थामा रहने छुट नभएको टिप्पणी अदालतको छ ।

पूर्णपाठमा भनिएको छ, “सरकारी मुद्दासम्बन्धी ऐनमा भएका कानुनी व्यवस्थाको अध्ययन गर्दा कुनै अपराधका सम्बन्धमा अपराध घटेको विषयको जाहेरी परेपछि यथाशीघ्र त्यसको तहकिकात गरी सबुत प्रमाण सङ्कलन गर्नुपर्ने व्यवस्था भएको देखिन्छ । तहकिकातपछि मुद्दा चलाउन प्रमाण नपुगे मुद्दा नचलाउने निर्णय गर्न सकिने एउटा अवस्था हो तर जाहेरी परिसकेपछि अनुसन्धान तहकिकातको कार्य गर्दै नगरी निद्रामग्न अवस्थामा रहने छुट कानुनले दिएको देखिँदैन ।

अदालतले अधिकार पाएको व्यक्तिले स्वेच्छामा कर्तव्य पूरा गरे पनि हुने र नगरे पनि हुने भन्‍ने धारणा बनाउन नमिल्ने फैसलामा उल्लेख गरेको छ । अधिकार र कर्तव्य सर्वसाधारण नागरिकको हितमा प्रयोग गर्ने गरी अधिकार पाउने व्यक्तिले काम गर्नुपर्ने पनि पूर्णपाठमा भनिएको छ । अनुसन्धान अधिकारीले पाएको कर्तव्य निजी प्रयोग र स्वेच्छाको विषय नभई नागरिकको अधिकारको विषय भएको फैसलामा उल्लेख छ ।

के थियो घटना ?

रौतहटको गौरमा २७ जनाको ज्यान जाने गरी १९ वर्षअघि भएको व्रूmर व्यक्ति हत्याको घटना अनुसन्धान अघि नबढेपछि पीडित परिवार सर्वोच्च पुगेको थियो । घटनामा ११५ जना घाइते भएका थिए । १३० जनाको नाममा किटानी जाहेरी २०६४ वैशाख २८ देखि प्रहरीमा विचाराधीन छ । घटनामा हाल केन्द्रीय राजनीतिमा सक्रिय रहेका उपेन्द्र यादव, रामबाबु यादव, रामेश्वरराय यादव लगायतका व्यक्तिमाथि समेत जाहेरी छ । घटनाका मृतक अधिकांश माओवादीका कार्यकर्ता थिए । घटनालाई मानव अधिकार आयोगको स्थलगत अध्ययनले तत्कालीन मधेशी जनअधिकार फोरम र माओवादीको प्रतिशोधपूर्ण व्यवहार मुख्य कारण मानेको थियो ।

मधेशी जनअधिकार फोरम हाल विभिन्न प्रकरणबाट गुज्रँदै अस्तित्वमा छैन । तत्कालीन माओवादी पार्टी पनि विभिन्न समूहमा विभाजित छ । घटनामा तत्कालीन फोरम र माओवादी कार्यकर्ता उसको भ्रातृ सङ्गठन मधेशी मुक्ति मोर्चाका नाममा आयोजित कार्यक्रममा सहभागी हुने क्रममा यो घटना भएको थियो । त्यसबेला सुरक्षा निकायको बेवास्ताले समेत क्रूर र अमानवीय घटना भएको आयोगको निष्कर्ष थियो । चैत ७ गते फोरम र मोर्चाको कार्यक्रम एकै समय र स्थानमा भएको थियो ।

तिक्ततापूर्ण व्यवहारमा रहेका दुई सङ्गठनका कार्यकर्ताबिच झडप हुँदा घटना रोक्न दुवैतर्फबाट नेतृत्वले कुनै भूमिका निर्वाह नगरेको आयोगको रिपोर्टमा उल्लेख छ । फोरमका कार्यकर्ताले मोर्चाको मञ्च भत्काएपछि सुरु भएको विवाद झडपमा रूपान्तरण हुँदा माओवादीका २७ कार्यकर्ताको ज्यान गएको थियो । राजनीतिक कार्यकर्ताबिच भएको घटनामा गोली नै चलेको थियो । आयोगको अनुसन्धानले मधेशी मुक्ति मोर्चाका तर्फबाट पहिले गोली चलेपछि प्रतिकारमा फोरम कार्यकर्ताले नियन्त्रणमा लिएका थिए । आयोगले फोरम उक्त घटनाका लागि पूर्ववत् रूपमा तयार रहेको निष्कर्ष प्रतिवेदनमा औँल्याएको छ ।

को थिए मारिएका ?

राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन अनुसार २७ व्यक्ति उक्त घटनामा मारिएका छन् । रौतहट, बारा, पर्सा, मकवानपुर, सिन्धुलीलगायतका जिल्लाका व्यक्ति उक्त घटनामा मारिएका थिए ।

मारिनेमा नूरजहाँ खातुन, उषा थापा, चुनु ठाकुर, राजु पटेल, सरस्वती उप्रेती, रामशरण यादव, नर्वदेश्वर उपाध्याय, छते वाइबा, नारायण दाहाल, रोहिण पोखरेल तथा रत्न बोगटी छन् । गौरमा मारिएका बोगटी बाजुराका हुन् । यस्तै मृतक अन्यमा गोरखाका विविन्द्र मगराती, दाङका जितेन्द्र थापामगर, कुमार तौलाङे, रमाकान्त चौधरी, उज्ज्वल दाहाल, दीपक पाण्डे, उर्मिला लो, मुनाल विक, पूर्ण जोशी, हस्तबहादुर श्रेष्ठ, राजकाजी कार्की, महेन्द्र साह छन् । यस्तै रामविश्वासराय यादव, रेखा परियार र गोविन्द अधिकारीको पनि उक्त घटनामा ज्यान गएको थियो ।

– नारायण काफ्ले