11/11/2025, 13:05:54
मङ्गलबार, कार्तिक २५, २०८२

तोकिएको समयमा निर्वाचन गराउन आयोग प्रतिबद्ध


काठमाडौँ, कात्तिक २५ : निर्वाचन आयोगले तोकिएको समयमा निर्वाचन गराउने प्रतिबद्धता व्यक्त गरेको छ । आयोगले नेपालको संविधान र मौजुदा कानुनबमोजिम आगामी फागुन २१ गते निर्वाचन गराउन प्रतिबद्ध रहेको जनाएको हो ।

निर्वाचन आयोगका पदाधिकारीले सोमबार आयोगका पूर्वप्रमुख आयुक्त, आयुक्त तथा पूर्वसचिवसँग आगामी निर्वाचन सम्बन्धमा छलफलका क्रममा सो प्रतिबद्धता व्यक्त गरेका हुन् । आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले भन्नुभयो, “नेपालको संविधान र मौजुदा कानुनबमोजिम तोकिएको समयमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्नु निर्वाचन आयोगको दायित्व हो ।

उहाँले युवा पुस्ताको आन्दोलनको मागबमोजिम सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि आधार तयार गर्ने उपायै स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण भएको धारणा व्यक्त गर्नुभयो । कार्यवाहक प्रमुख आयुक्त भण्डारीले राजनीतिक दलको मागसमेत जनप्रतिनिधिमूलक शासन कायम गर्ने उपाय निर्वाचन रहेको जिकिर गर्नुभयो ।

उहाँले विगतका निर्वाचनको ज्ञान र अनुभवका आधारमा आयोगका पूर्वपदाधिकारीबाट प्राप्त सुझाव आगामी निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो । छलफलमा आयोगका पूर्वपदाधिकारीले विद्यमान परिस्थितिमा स्वच्छ, स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा प्रतिनिधि सभा सदस्यको निर्वाचन सम्पन्न गराउन सबै सरोकारवालाको सहयोग अपरिहार्य हुने बताउनुभयो ।

छलफलमा सहभागी पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती, पूर्वकार्यवाहक प्रमुख आयुक्त दोलखबहादुर गुरुङ, डा। पिबी ठाकुरले निर्वाचनका लागि सकारात्मक वातावरण निर्माण, निर्वाचन व्यवस्थापनमा सुधार, आचारसहिंता परिपालना एवं निरन्तर संवाद र समन्वय गर्न आयोगलाई सुझाव दिनुभयो ।