10/17/2025, 20:39:59
शुक्रबार, कार्तिक ०१, २०८२

विमानस्थल आक्रमण गर्न जिलेटिन लिएर पुगेको समूहलाई रोकेको सेनाको दाबी

विमानस्थल बन्द भएको भए अन्तराष्ट्रिय स्तरमै नेपालको छवि धुमिल हुने थियो ।


काठमाडौँ, ३१ असोज : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण गर्ने उद्देश्यसहित जिलेटिन लिएर पुगेको समूहलाई आफूहरुले रोकेको नेपाली सेनाले जनाएको छ ।

जेन-जी आन्दोलनमा भएको भौतिक र मानवीय क्षतिबारे जानकारी गराउन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सहायक रथी मनोज थापाले यसबारे खुलाएका हुन् । ‘विमानस्थल आक्रमण गर्ने उद्देश्यसहित जिलेटिन लिएर आएकाहरूलाई हामीले रोक्यौं,’ उनले भने, ‘विमानस्थल बन्द भएको भए अन्तराष्ट्रिय स्तरमै नेपालको छवि धुमिल हुने थियो ।

यस्तै, आन्दोलनबाट सिर्जित अवस्थाका कारण ९ सय ७८ हातहतियार लुटिएको सेनाले जनाएको छ । लुटिएका मध्ये ५ सय ८६ हतियार मात्र बरामद र फिर्ता भएका छन् । यस्तै १५ हजार ५ सय ८८ कैदीबन्दी फरार भएकामा ८ हजार ७ सय ९९ जना पक्राउ र फिर्ता भएका छन् ।

२४ गतेको तोडफोड र आगजनीमा सबैभन्दा धेरै ६ सय ८८ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । सेनाका अनुसार ३ सय ७ प्रहरी कार्यालय, २ सय ५९ निजी निवास, १ सय ९८ राजनीतिक दलका कार्यालय र १ सय २८ वटा व्यापारिक प्रतिष्ठानमा तोडफोड र आगजनीमा परेका छन् । कुल ७६ जनाको ज्यान गएकामा २२ प्रदर्शनकारी, ३ प्रहरी, १० कैदी र अन्य ४१ जना रहेको सेनाले शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो ।

जेन-जी आन्दोलनमा ६१ भीआईपीको हवाई उद्धार गरिएको पनि सेनाले जनाएको छ । नेपाल प्रहरीका २३ कर्मचारीको पनि हवाई उद्धार गरिएको र जमिनबाट १२९ जनालाई उद्धार गरिएको सेनाले जनाएको छ ।

सेनाका युद्धकार्य निर्देशक अनुपजंग थापाले आफूहरुको प्राथमिकता जनधनको सुरक्षा र राष्ट्रिय एकतामा रहेको बताए । ‘सेनाले घातक शक्ति प्रयोग नगरेको छिटपुट सुन्नमा आएका छन्, तर हाम्रो स्पष्ट प्राथमिकता जनधन सुरक्षा र राष्ट्रिय एकता नै थियो,’ उनले भने ।

भदौ २४ को घटनामा सेनाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल लगायत शीर्ष नेता र नितका परिवारका साथै मन्त्रीहरुलाई उद्धार गरी सुरक्षित स्थलमा पुर्‍याएको थियो ।

जेन-जी आन्दोलन र त्यसबाट उत्पन्न परिस्थितिका कारण कुल ७६ जनाको मृत्यु भएको थियो ।