09/27/2025, 22:53:34
शनिबार, असोज ११, २०८२
विश्व पर्यटन दिवस

पोखरामा तामझामबिनै मनाइयो विश्व पर्यटन दिवस


११ असोज, पोखरा : ‘जेन–जी’ आन्दोलनपछि सिजनको मुखैमा पर्यटकको अभाव खेपेका पोखराका पर्यटन व्यवसायीले यसपल्टको विश्व पर्यटन दिवस तामझामबिनै मनाएका छन् । विमानस्थल र बसपार्कमा पर्यटकलाई सामान्य स्वागत गरे । लेकसाइडमा बाजागाजाबिना र्‍याली गरे । पोखरा पर्यटन परिषद् र नेपाल पर्यटन बोर्डको पोखरा कार्यालयको आयोजनामा अन्तरक्रिया कार्यत्रम गरी विज्ञको कुरा सुने ।

पर्यटन र दिगो रुपान्तरण’को नारासहित यस वर्षको विश्व पर्यटन दिवस मनाइँदै छ । पोखरा आयोजित अन्तरक्रियामा विज्ञले पर्यटनलाई पुनर्जीवित गर्न स्थिरता, सुरक्षा र गुणस्तरीयताको आवश्यकता रहेकोमा जोड दिए । नेपालको साहसिक पर्यटन उद्योगका अग्रणी व्यक्तित्व बेलायती नागरिक टोनी जोन्सले पर्यटन क्षेत्रमा भएका चुनौतीबारे गम्भीर विश्लेषण गर्दै स्थायित्व र गुणस्तरीय पर्यटनमा केन्द्रित हुन आह्वान गरे । कार्यक्रमका प्रमुख वक्ता जोन्सले हालको अस्थिरतालाई पर्यटनको लागि ठूलो खतराका रुपमा औंल्याए । ‘मैले यसभन्दा अगाडि पनि सडकमा आक्रोश देखेको छु, तर यस्तो विनाश कहिल्यै देखेको छैन,’ आफू भर्खरै दुबइबाट नेपाल आउँदा हवाईजहाजबाटै फर्कनुपरेको घटना उल्लेख गर्दै उनले भने, ‘नेपालमा सधैं अस्थिरता हुन्छ भन्ने सन्देश विदेशी पर्यटकमाझ पुगेको छ ।

सन् १९७० को दशकमा नेपाल आएका उनले सन् १९७८ मा अल्टिमेट डिसेन्ट्स इन्टरनेसनल (यूडीआई)को स्थापना गरी स्थलमार्ग हुँदै बेलायतबाट नेपालमा पर्यटक भित्र्याएका थिए । टेन्टमा पर्यटक राख्ने अवधारण उनैले भित्र्याएका थिए । उनी र्‍याफ्टिङमा नेपालकै पायोनियरका रुपमा चिनिन्छन् । नेपालका नदीलाई व्यावसायिक रूपमा चिनाउने, सुरक्षा मानक कायम गर्ने र पहिलो पुस्ताका नेपाली गाइडहरूलाई तालिम दिने श्रेय उनलाई जान्छ ।

बन्दिपुरको पहिलो होटल ओल्ड इन उनले नै स्थापना गरेका हुन् । सन् २००४ मा पर्यटन क्षेत्रमा योगदान र नेपाल–ब्रिटेन सम्बन्धको लागि उनलाई महारानी एलिजाबेथ द्वितीयले एमबीई उपाधिले सम्मानित गरेकी थिइन् ।

यसअघि सशस्त्र युद्ध, राजदरबार हत्याकाण्ड, ०६२/०६३ को जनआन्दोलन, भूकम्प, कोभिड जस्ता घटनाक्रम उल्लेख गर्दै उनले उनले वर्तमान संकटलाई यो देशले भोगेका सबै संकटको ‘योगफल’को संज्ञा दिए । ‘विदेशी पर्यटक र ट्राभल एजेन्टहरूले एउटा समस्यालाई टार्न सक्छन्, अर्को समस्यालाई पनि टार्न सक्छन्, तर अहिले यस्तो लाग्छ कि नेपालमा स्थिरताको ग्यारेन्टी छैन,’ ८४ वर्षीय उनले भने, ‘हरेक देशलाई स्थिरताको आवश्यकता हुन्छ ।

उनको विश्लेषण अनुसार नेपाल अहिले पुरानो प्रणालीलाई हटाउनुपर्छ भन्ने सहमतिमा छ, तर त्यसको ठाउँमा के ल्याउने भन्नेमा भ्रम छ । उनले भने, ‘यो संकटले पुरानो तरिका बदल्नुपर्छ भन्ने स्पष्ट छ, तर के ल्याउने भन्ने स्पष्ट छैन । त्यही नै दुविधा हो ।’ उनले चुनाव घोषणा भएको अर्को ६ महिनामा के हुन्छ भन्ने अनिश्चितताले मानिसहरू चिन्तित रहेको बताए ।

नेपालीको लचिलोपन र आशावादिताको प्रशंसा गर्दै उनले समस्याको समाधान सजिलो नभएको स्वीकार गरे । पर्यटन पुनरुत्थानको लागि उनले अधबैंशे र बृद्ध पर्यटकमा केन्द्रित गर्नुपर्ने उनले सुझाए । ‘नेपालीहरु जापानमा वृद्धवृद्धा स्याहार्न जापान जाने होइन, त्यहाँका वृद्धवृद्धालाई यहाँ बोलाउने हो,’ उनले भने, ‘उनीहरुसँग पैसा र समय दुवै छ ।’ उनले पर्यटक भित्र्याउन आधारभूत संरचना र सेवाको गुणस्तर सुधार्नुपर्नेमा जोड दिए ।

पोखराको पर्यटनलाई दिगो बनाउन अन्तर्राष्ट्रिय विमानस्थलको माध्यमबाट विश्वस्तरीय गन्तव्य बनाउनुपर्ने उपाय उनले सुझाए । हाल उनी तनहुँको भानु नगरपालिकामा रहेको रिपे गाउँमा होमस्टे सञ्चालन गरी पर्यटक भित्र्याइरहेका छन् ।

अन्तरक्रियामा अर्की वक्ता थिइन्, पोखरा–२८ ठूलाकोटमा जीसीसी रिसोर्ट सञ्चालन गरिरहेकी बंगलादेशी नागरिक मोनिका चौधरी । नेपालको पर्यटनमा लगानी गर्नेले यहाँको प्रकृति र संस्कृति बचोस् भन्ने चाहना राख्ने गरेको उनले सुनाइन् । ‘विदेशी पर्यटक कालोपत्र सडकमा ट्रेकिङ गर्न मन पराउँदैनन्,’ उनले भनिन्, ‘दिगो पर्यटनमा ध्यान दिन यहाँको प्रकृति बचाउनुपर्छ ।’ उनले पर्यटकलाई सुरक्षित अनुभूति गराउन स्थानीय तहले पनि भूमिका खेल्नुपर्नेमा जोड दिइन् ।

पर्यटन व्यवसायीको छाता संस्था पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पर्यटनलाई पुनरुत्थान गर्न नेपाल सुरक्षित रहेको सन्देश दिनुपर्ने बताए ।‘जेन–जी’ आन्दोलनमा ज्यान गुमाएका नागरिकको सम्मानका लागि पनि यसपल्ट बाजागजा, झाँकीसहितको धुमधाम नगरी पर्यटन दिवस मनाएको उनले सुनाए ।

पर्यटन बोर्डका पोखरा कार्यालय प्रमुख मणिराज लामिछानेले संकटको बेला अवसरको पनि खोजी गर्नुपर्नेमा जोड दिए । ‘कोभिडपछि पर्यटन लयमा फर्किरहेको अवस्थामा फेरि अन्योलको स्थिति देखापरेको छ,’ उनले भने, ‘यस्तो अवस्थामा पर्यटन क्षेत्रले पनि आफूलाई रुपान्तरण गर्नुपर्ने आवश्यकता छ ।

उनले नेपालको सुरक्षा अवस्थाबारे सकारात्मक दृष्टिकोण तयार गर्न पर्यटन बोर्डले विदेशी कूटनीतिज्ञसँग छलफल गरेको सुनाए ।

– दीपक परियार