काठमाडौँ, असोज १० : गत भदौको तेस्रो साता चलेको जेन-जी आन्दोलनपछि कतिपय देशले नेपालीलाई भिसा दिन रोकेको भन्ने विषयमा सरकारले कूटनीतिक माध्यमबाट बुझ्न थालेको छ । केही मध्यपूर्वी देशले नेपालीलाई भिसामा कडाइ गरे वा नगरेको विषयमा परराष्ट्र मन्त्रालयले बुझ्न थालेको हो ।
परराष्ट्र मन्त्रालयले सम्बन्धित देशमा रहेका राजदूतावास मार्फत त्यहाँको अवस्थाका बारेमा बुझ्न सुरु गरेको जनाएको छ । सो मन्त्रालयका अनुसार अहिलेसम्म त्यस्तो आधिकारिक जानकारी प्राप्त भएको छैन । वैदेशिक रोजगार व्यवसायीका अनुसार संयुक्त अरब इमिरेट्स (युएई) ले नेपालीलाई भ्रमण भिसा रोक लगाएको छ भने रोजगारीको भिसामा कडाइ गरेको छ । त्यस्तै जिसिसी कन्ट्री (मलेसिया, कतार, साउदी अरब) लगायतका देशले समेत रोजगारी भिसामा कडाइ गरेको व्यवसायीले बताउँदै आएका छन् । यो विषयमा परराष्ट्रले सम्बन्धित देशमा रहेका नेपाली राजदूतावासमा बुझ्न थालेको जनाएको छ ।
गत भदौ २३ र २४ गतेको जेन-जी पुस्ताको आन्दोलनका क्रममा कैदीबन्दी सामूहिक रूपमा कारागारबाट भागेका थिए भने सुरक्षाकर्मीका हातहतियार लुटिएका थिए । सोही कारण आफ्नो देशमा आपराधिक गतिविधिमा संलग्नहरू प्नि आउन सक्ने भन्दै ती देशले नेपाली नागरिकमाथि भिसा कडाइ गरेको जनाइएको छ । यसलाई सहज बनाउने प्रयास परराष्ट्र मन्त्रालय अन्तर्गत सम्बन्धित देशमा रहेका दूतावासमार्फत भएको जनाइएको छ ।
वैदेशिक रोजगार विज्ञहरू जिसिसी अन्तर्गतका एउटाले कठोर नीति अपनाएपछि अन्य सदस्यले पनि त्यसलाई अवलम्बन गर्ने प्रचलन छ । जिसिसीमा युएईसहित कतार, साउदी अरब, बहराइन, कुवेत र ओमान छन् ।
जेन-जी पुस्ताको आन्दोलनपछि औपचारिक रूपमै नेपालीलाई युएईमा भ्रमण भिसा बन्द घोषणा गरेको युएईले पछिल्लो केही दिनयता रोजगारीमा जानेको भिसा पनि अघोषित तरिकाले रोकेको छ ।
वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा युएईमा मात्रै दुई लाख ७४ हजार ५९० जना श्रम स्वीकृति लिएर युएई पुगेकोमा प्रत्येक दिन ७५२ जना पुगेको देखिन्छ । पछिल्ला दिनमा युएईका लागि एक/डेढ सय जनाले मात्रै श्रम स्वीकृति लिएको विभागको तथ्याङ्कमा देखिन्छ । चालु आव २०८२/८३ को साउन र भदौमा मात्रै युएईका लागि ५० हजारले श्रम स्वीकृति लिएर युएई पुगे । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका पूर्वअध्यक्ष राजेन्द्र भण्डारीले युएईका रोजगारदातासँग बुझ्दा मानव संसाधन मन्त्रालयबाट हुने लेबर परमिट नरोकिएको तर त्यहाँको इमिग्रेसनको सिस्टममै नेपाल लेख्नेबित्तिकै भिसा क्यान्सिल भनेर आउने गरेको जानकारी प्राप्त भएको बताउनुभयो ।
भण्डारीले नेपालीको पहिलो श्रम गन्तव्य देश युएईमा दैनिक सात÷साढे सात सय जनाको रोजगारीको माग आउने गरेकामा अहिले शून्य जस्तैमा झरेको बताउनुभयो । हाल विभागमा श्रम स्वीकृति लिने त यसअघि नै भिसा लागिसकेका रोजगारदाताले अहिले बोलाएर जान लागेको मात्रै भएको बताउँदै उहाँले यसको असर अर्को महिनामा मात्रै देखिने जनाउनुभयो ।
सङ्घका अर्का पूर्वअध्यक्ष रोहन गुरुङले पछिल्लो समयमा युएई मात्रै नभई साउदी अरब, कतार, ओमान, कुवेतलगायतका देशलेसमेत अघोषित रूपमा भिसा रोकेको बुझ्न सकिने बताउनुभयो । ती देशबाट दैनिक आउनुपर्ने भिसा अहिले नआएको उहाँको बुझाइ छ । उहाँका अनुसार लामो समयसम्म नरहला ।
नेपालका कैदीबन्दीलाई कानुनी कारबाहीका लागि पुनः जेल फर्काइएको सन्देश दिन सकिएन भने यो असर लामो समयसम्म रहन सक्ने पूर्वअध्यक्ष भण्डारीको अनुमान छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले युएईलगायतका मध्यपूर्वका देशमा नेपाली श्रमिकको रोजगार भिसा रोकेको हालसम्म कुनै जानकारी प्राप्त नभएको स्पष्ट पार्नुभयो । युएईमा नेपालीका लागि भ्रमण भिसा रोकेको भन्ने सूचना जानकारीमा रहे पनि रोजगारीको भिसा रोकेको भन्ने विषयमा जानकारी नआएको उहाँको भनाइ थियो ।
विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले पछिल्लो समयमा युएईका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या भने केही घटेको जानकारी दिनुुभयो । पछिल्लो समयमा युएई जानलाई श्रम स्वीकृति लिनेको सङ्ख्या घट्नुमा युएईले भिसा नदिएर हो वा नजिकिएको दसैँले हो बुझ्न नसकेको उहाँको भनाइ छ ।
– सीता शर्मा