काठमाडौँ, ९ असोज : मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोलामा झरेको पहिरो अहिलेसम्म ६० प्रतिशत हटाइसकिएको सडक विभागले जनाएको छ।
पहिरो पन्छाउन नारायणगढ तर्फबाट एक्साभेटर र लोडर एक–एक वटा परिचालन गरिएको छ। मुग्लिन तर्फबाट दुई वटा लोडर र एउटा एक्साभेटरले निरन्तर पहिरो पन्छाइरहेको छ। यसको अलावा दुवैतर्फ १/१ वटा ब्याकहो लोडर तैनाथ गरिएको विभागका प्रवक्ता प्रभातकुमार झाले बताए।
काम गर्ने क्षेत्र साँघुरो भएकोले एकैपटक दुवै तर्फबाट कुल ५ वटा उपकरणले मात्रै काम गर्न सक्ने अवस्था रहेको विभागले जनाएको छ। पहिरो पन्छाउने क्रममा नारायणगढ साइडतर्फ ठूला–ठूला ढुंगाका कारण केही कठिनाइ भए तापनि उपकरणहरूले पूर्ण क्षमतासाथ काम गरिरहेको जनाइएको छ।

पहिरोको थुप्रोमा ढुंगाको मात्रा बढी भएको र स–साना तिखा ढुंगाका कारण टायर पन्चर हुने, ढुंगाले लागेर अपरेटर घाइते हुने जस्ता समस्याका कारण सोचे अनुसारको प्रगति हुन नसकेकोले हेभी इक्विपमेन्ट डिभिजन हेटौँडा र डुम्रेबाट दुई जना अपरेटर थप गरिएको छ।
कुनै पनि बाधा नआए निरन्तर रूपमा कार्य गर्न सकिए आज रातिसम्ममा पूरै पहिरो पन्छाएर सवारी आवागमन सञ्चालन हुने विभागको विश्वास छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!









