11/17/2025, 18:34:00
सोमबार, मङि्सर ०१, २०८२

विपिन जोशीको सकुशल रिहाइका लागि दबाब दिन आमा र बहिनी अमेरिका प्रस्थान


काठमाडौँ, ८ असोज : प्यालेस्टिनी लडाकु समूह हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको सकुशल रिहाइका लागि दबाब दिन आमा पद्मा र बहिनी पुष्पा बुधबार साँझ अमेरिका प्रस्थान गरेका छन् ।

बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट सार्वजनिक गर्दै पुष्पाले उक्त कुराको जानकारी दिएकी हुन् । यसअघि आफूहरु दाइ विपिनको सकुशल रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब बढाउन केही पहिले इजरायल गएझैँ यसपटक अमेरिका जान लागेको उनले बताएकी छन् । विगतमा अन्तर्राष्ट्रिय मित्र र संसारभरका नेपालीबाट आफूहरुले अथाह सहयोग पाएको बताउँदै पुष्पाले दाइको सकुशल रिहाइका लागि आवाज उठाउन अपिलसमेत गरेकी छन् । आफ्नो दाइको रिहाइको विषय अन्तर्राष्ट्रिय विषय भएको हुँदा दाइको स्वतन्त्रताका लागि अन्य देशका नागरिकहरुलाईसमेत यस मुद्दामा जोडिएर सहयोग गर्न उनले आग्रह गरेकी छन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भासीका विपिनको रिहाइका लागि अन्तर्राष्ट्रियस्तरमा दबाब बढाई राष्ट्रसंघसम्म लैजाने गरी इजरायल सरकारले संयुक्त राष्ट्रसंघ, अमेरिकी सरकार र अन्तर्राष्ट्रिय समुदायसमेतको साथ लिएर उनकी आमा र बहिनीलाई गत साउन अन्तिम साता इजरायल झिकाएको थियो ।

प्यालेस्टिनी विद्रोही लडाकु हमासले आफ्नो नियन्त्रणमा रहेका विपिन जोशीसहित ४८ जना बन्धकको ‘बिदाइ तस्बिर’भन्दै गत शनिबार सार्वजनिक गरेको छ । दोहा मुख्यालय रहेको अलजजिरा अनलाइनका अनुसार हमासको कसाम ब्रिगेड्सले सार्वजनिक गरे पनि उनीहरुको अवस्था र विस्तृत विवरण भने खुलाइएको छैन । हमासले ७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलको किबुजमा आक्रमण गर्दा १२ सय मारिएका थिए भने विपिनसहित २ सय ५१ जनालाई बन्धक बनाइएको थियो । विपिन ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषिसम्बन्धी अध्ययनका लागि इजरायल पुगेका थिए । हमासको आक्रमणमा परी किबुजमै १० नेपाली विद्यार्थीको ज्यान गएको थियो ।

हमासले गरेको आक्रमणपछि इजरायलले प्यालेस्टाइनमा हमला गर्दा ६० हजारभन्दा बढी मारिएका छन्, उनीहरूमध्ये करिब १८ हजार ५ सय बालबालिका र ९ हजार ७ सय महिला भएको बीबीसीले जनाएको छ । २२ महिनाको युद्धमा करिब डेढ लाख घाइते भएका छन् ।