चितवन, ७ असोज : यातायात ठप्प हुने गरेर नारायणगढ मुग्लिन सडकको तुइनखोलामा मंगलबार दिउँसो पाँच बजे ठूलो पहिरो खसेपछि चितवन जिल्ला प्रशासन कार्यालयले उक्त सडक खण्डको विकल्पमा प्रयोग गर्न सकिने वैकल्पिक रूटहरू सार्वजनिक गरेको छ ।
सडक तत्काल खुल्न सक्ने सम्भावना नरहेकोले पूर्वमा महोत्तरीको बर्दिवास र पश्चिममा रूपन्देहीको बुटवलबाटै वैकल्पिक मार्ग अपनाउन चितवन प्रशासनले अपिल गरेको छ ।
त्यसैगरी मकवानपुरको हेटौंडा, नवलपरासी बर्दघाट सुस्तापूर्वको कावासोती र गैंडाकोट, तनहुँको खैरेनीटार र धादिङको नौबिसेबाट वैकल्पिक रूट अपनाउन प्रशासनको सूचनामा उल्लेख छ । नारायणगढ मुग्लिन सडक संघीय राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई पूर्व पश्चिम महेन्द्र राजमार्गसँग जोड्ने मुख्य मार्ग हो । यो सडक हुँदै दिनहुँ १० हजारभन्दा बढी साना ठूला गाडी र मालवाहक ट्रक ओहरदोहर गर्दछन् । यो सडक शुक्रबार साँझदेखि पहिरोबाट लगातार ४५ घण्टा ठप्प भएर आइतबार दिउँसो खुलेको थियो । राम्रोसँग सञ्चालनमा नआउँदै फेरि ठूलो पहिरो गएको छ ।
चितवन प्रशमसनले यो समय सकेसम्म याात्रा नगर्न अनुरोध गरेको छ । ‘हाम्रो अनुरोध छ जोखिम मोलेर यात्रा नगरौं । ज्यान बचाऔं, यात्रा पछि गरौंला । घुमेरै यात्रा गरौं । बाटो खुल्ने आशामा आफैं दुख हैरानीमा नपरौं‘ चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जारी गरेको सूचनामा उल्लेख छ ।