सुर्खेत, असोज १ : नापी कार्यालय सुर्खेतमा २०२८ सालदेखिका कागजात जलेर नष्ट भएका छन् । जेनजी पुस्ताको आन्दोलनका क्रममा भदौ २४ गते भएको आगजनीबाट कागजात जलेका हुन् ।
नागरिकको सम्पत्तिको मुख्य प्रमाण नै नष्ट भएपछि कामको जिम्मेवारी थपिएको छ भने अब कसरी भन्ने अन्योलसमेत भएको छ ।
आगजनीबाट नापी कार्यालयको पहिलो र दोस्रो तलामा राखिएका नक्सा, पुराना निर्णय तथा दस्ताबेज, कित्ताकाट, प्लट रजिस्टरलगायत महत्वपूर्ण कागजात जलेर नष्ट भएको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख दिनेश भण्डारीले मानिसको सम्पत्तिको प्रमाण मानिने जग्गाको नक्सालगायतका कागजात नष्ट भएको जानकारी दिनुभयो । उहाँले २०२८/२९ सालदेखिका महत्वपूर्ण कागजात सबै जलेर खरानी भएको बताउनुभयो ।
उहाँले वीरेन्द्रनगर नगरपालिका–७, ८ र ९ को नयाँ नापीका कागजात पनि जलेको जनाउनुभयो । सेवाग्राही सेवा लिन आएको खण्डमा उहाँलाई सेवा दिने कुनै पनि कागजात अहिले नभएको उहाँको भनाइ छ । कागजातका साथै कार्यालयमा सञ्चालनमा रहेका २२ वटा कम्प्युटर जलेका छन् । यसका साथै नेटवर्किङ, वायरिङ, सिसी क्यामरा, डिजिटल टोकन, नक्सालगायतका सामान पनि जलेर नष्ट भएका छन् । कार्यालयले सूचना जारी गरेर अर्को व्यवस्था नभएसम्मका लागि सेवा प्रदान गर्न नसकिने जनाएको छ । कार्यालय प्रमुख भण्डारीले कार्यालयका सामान तथा कागजात सबै जलेर खरानी भएको बताउँदै अर्को सूचना जारी नभएसम्म सेवा दिन नसकिने बताउनुभयो । उहाँले पुरानो अवस्थामा फर्कन अझै धेरै समय लाग्ने जानकारीसमेत दिनुभयो । यद्यपि केन्द्रीय कार्यालयसँग समवन्य गरेर रिकभर गर्ने प्रयास भइरहेको उहाँको भनाइ छ ।
बाक्लो फलामे दराजमा रहेका कारण केही फिल्ड बुक बचेका छन् । अन्य सामान जलेर ध्वस्त छन् । आगजनी भएको करिब एक सातापछि कार्यालयमा भएको क्षतिको मुचुल्का आइतबार तयार गरिएको छ । आगजनीबाट दुई वटा मोटरसाइकल र एउटा गाडी पनि जलेको छ । फर्निचर र भौतिक संरचनाबाहेक कार्यालयमा दुई करोड बढीको क्षति भएको जानकारी कार्यालय प्रमुख भण्डारीले दिनुभयो । कार्यालय प्रमुखदेखि सबै कर्मचारी सोमबारसम्म कार्यालयको सफाइमा जुटेका छन् । जलेका कागजात हेर्दा पनि पहिचान गर्न नसक्ने अवस्थामा छन् ।
उहाँले कार्यालयका कागजात क्षति भएपछि कामको भार थपिने बताउनुभयो । कार्यालयमा कुनै कागजात नभएपछि मालपोतबाट मगाउनुपर्ने, रुजु गर्नुपर्ने हुँदा समयको चाप, कामको भार थपिने उहाँको भनाइ छ । क्षति भएको कार्यालयको मर्मत गर्न पनि समय र रकम बढी नै लाग्ने भएको छ । मूल्याङ्कन गर्न बाँकी रहेकोले यति रकम लाग्छ भन्ने अहिले भन्न नसकिने उहाँले बताउनुभयो ।