धनकुटा, २८ भदौ : धनकुटा खाल्सा क्षेत्र अर्थात सहिद भूमि गाउँपालिकामा अधिकांश किराँतीहरूको बसोबास रहेको छ। किराँतीहरूको आफ्नै शैलीका घरहरू हुन्छन्। एक तले साना चिटिक्क परेको घर, बाहिर सिकुवा भित्र एउटै खुल्ला कोठो, त्यही चुल्हो, चुल्हो माथि बिस्कुन सुकाउने भार, नजिकै कुल थान र अन्य राखनधरन हुनु यस्ता घरको विशेषता हो। यस्ता घर धनकुटाको खाल्सा क्षेत्रका किराँतीहरूको पहिचान पनि हो। तर, स्थानीय किराँती शैलीका स्थानीय वस्तु र प्रविधिको प्रयोग गरी निर्माण गरिएका यस्ता घर पछिल्लो समय आधुनिकतासँगै हराउन थालेका छन्। कुनै बेला गाउँभरि नै पाइने यस्ता घर गाउँमा भेट्न मुस्किल हुने गरेको छ।
धनकुटाको सहिदभूमी गाउँपालिका वडा नं. ६ का ९२ वर्षीय रण बहादुर राईले किराँती शैलीको घर वि.सं २००७ सालमा निर्माण गर्नुभएको हो। उहाँ अहिलेसम्म आफैले निर्माण गरेको त्यही घरमा बस्दै आउनु भएको छ। अहिलेको आधुनिक जमानामा घर हेर्दा अनौठो लाग्ने गर्दछ। जमिन भन्दा केही माथि उठाएर बनाइएको घरको बाहिर पट्टिको भागमा दलान (सिकुवा), दलानसम्म पुग्ने ढुङ्गा खात गरी मिलाएर बनाइएको सिँढी, दलान ढाक्न ढुङ्गा र माटोबाट बनाइएको सानो पर्खाल रहेको छ। जमिन भन्दा थोरै माथिसम्म ढाक्ने गरी लगाइएको छानो रहेको छ। मूल ढोकामा कलात्मक आकृति, दलानबाट भित्र पस्दै गर्दा देखिने अगेनो, अगेनो माथि बिस्कुन सुकाउन बनाइएको भार, कोठा कोठा नबनाई छाडिएको खुल्ला स्थान, केही खाट, ढोल झ्याम्टा, चिन्डो, लत्ताकपडा सहित राखनधरन रहेको छ। त्यसैको छेउमा उहाँको खाट छ। राईले त्यही खाटमा बसेर दिनहरू कटाउँदै आएको बताउनु भयो।

तर, यस्तो प्रकारका घर तथा यस्ता दृश्य अहिले सहिदभुमी गाउँपालिकामा बिरानो बन्दै गएको छ। जोडामा न्यानो, गर्मीमा शीतलता प्रदान गर्ने भूकम्पीय जोखिम नभएका किराँती शैलीका घर पुरानो पुस्तासँगै हराउँदै गएका छन्। वि.स २०३० सालसम्म गाउँभरीनै पाइने यस्ता घर अहिले केही मात्र बाकी रहेका छन्। त्यसपछि निर्माण गर्न थालिएका काठ, जस्ता तथा झिँगटीका घर समेत बिरानो बन्दै गएका छन्। पुरानो पुस्तासँगै यस्ता घर हराउँदै गएको सहिद भूमि गाउँपालिका वडा नं. ४ की स्थानीय चुन कुमारी राई बताउनु भयो।
आधुनिक जमानाका मान्छे पुरानो घरमा बस्न नमान्ने तथा पुरानो पुस्ता आधुनिक घरभन्दा पनि पहिलेकै घर रुचाउने गरेको पाइएको सहिदभूमी गाउँपालिका वडा नं. ५ का स्थानीय उदय राईले बताउनु भयो। उहाँले पुराना घरको संरक्षणका लागि विशेष गरी स्थानीय तह तथा प्रदेश र सङ्घ सरकारको ध्यान जानुपर्ने बताउनु भयो। अहिले पहिचानका ठुला कुरा गर्नेहरू आफ्नो पहिचान संरक्षणतिर नलागेको उदयको गुनासो छ।
त्यसो त यस्ता पुराना घरमा रहेका ढोकाको कलाको बारेमा जानकार व्यक्ति नहुनु, पहिले जस्तो खर नपाइनु तथा पाइहाले पनि धेरै टाढा लिन जानुपर्ने समस्या रहेको छ। अझ नयाँ पुस्ताले पुरानो घर प्रति चासो नदिँदा पुराना किराँती शैलीका घर लोप भएको सहिद भूमि गाउँपालिका वडा नं. ६ का शान्त कुमार राई बताउनु हुन्छ। टोलमा २÷४ वटा घर मात्रै बाँकी रहेको उहाँले बताउनु भयो। पुराना शैलीका घर बनाउनै नसकिने भन्ने नभए पनि नयाँ पुस्ताले हाम्रो पहिचान भन्ने सोच बनाए संरक्षण हुने उहाँको भनाइ छ।

यता सहिद भूमि गाउँपालिकाले भने यस्ता बाँकी रहेका घर पुरानै अवस्थामा जोगाउनका लागि परेको जनाएको छ। नयाँ पुस्तालाई पुराना घरको बारेमा जानकारी दिँदै, यस्ता किराँती शैलीका घरबाट पर्यटन प्रवर्द्धन गर्न संरक्षण सुरु गरेको गाउँपालिका अध्यक्ष मनोज राईले बताउनु भयो। अध्यक्ष राईले यस्ता घरमा संरक्षण तथा प्रवर्द्धनका लागि गाउँपालिकाले नीति बनाउने तयारीमा रहेको बताउँदै नीति बनाउनका लागि काम भइरहेको बताउनु भयो।
पूर्वमा बसोबास गर्ने किरातीहरुको यस्ता पुराना शैलीका घर पुराना प्रतीक हुन्। खाल्सा क्षेत्र अर्थात् सहिद भूमि गाउँपालिकामा मात्र नभई धनकुटाका अन्य स्थान सहित भोजपुर र खोटाङ लगायत किराँतीहरूको बसोबास रहेको जिल्लामा समेत यस्तै शैलीका फरक प्रकारका घर बन्ने गरेका थिए। अहिले पुरानो पुस्तासँगै यस्ता घर समेत हराउँदै गएका छन्।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










