09/05/2025, 17:01:51
शुक्रबार, भदौ २०, २०८२

पोखरामा अन्तर्राष्ट्रिय आईटी कार्यशाला सम्पन्न, काठमाडौंमा आजबाट सञ्चालन हुँदै


पोखरा, भाद्र २० : दिप आईटी एण्ड एजुकेसनल कन्सल्टेन्सी, दिप कम्प्युटर इन्स्टिच्युट र क्यापिटल एजुकेशन एण्ड माइग्रेसनको संयुक्त आयोजनामा भएको अन्तर्राष्ट्रिय आईटी कार्यशाला पोखरामा भब्यताका साथ सम्पन्न भएको छ। अजेङ्क्या डीवाई पाटिल युनिभर्सिटी र भेलोसेस कन्सल्टिङ सर्भिसेस (भारत) ले प्रायोजन गरेको यो कार्यक्रम विश्वविख्यात माइक्रोसफ्टसँगको सहकार्यमा पोखरा इभेन्ट सेन्टरमा सम्पन्न भएको हो। अब यो कार्यशाला यही भाद्र २० र २१ गते अर्थात आज र भोली काठमाडौंको दियो महलमा सञ्चालन हुने भएको छ।

आयोजक संस्थाका प्रमुख कार्यकारी अधिकृत दिनेश लामिछानेका अनुसार, यो कार्यक्रम भविष्यका रोजगारीका अवसर र प्रविधि–सम्बन्धित पेशाहरूको महत्त्वलाई विद्यार्थीमाझ उजागर गर्ने उद्देश्यले गरिएको हो। विश्व आर्थिक मञ्च (World Economic Forum) को ‘फ्युचर अफ् जब्स २०२३’ प्रतिवेदन अनुसार, प्रविधिको तीव्र प्रयोगले पारम्परिक पेशाहरूमा रोजगारी घट्दै गएको छ भने आर्टिफिसियल इन्टेलिजेन्स (एआइ), मेसिन लर्निङ (एमएल), सूचना सुरक्षा विश्लेषक, र बिजनेस इन्टेलिजेन्स जस्ता प्रविधि–सम्बन्धित पेशाहरूमा तीव्र वृद्धि भइरहेको छ। प्रतिवेदनले सन् २०२७ सम्ममा विश्वभर करिब २३ प्रतिशत रोजगारीमा प्रविधिले ठूलो परिवर्तन ल्याउने प्रक्षेपण गरेको छ।

यस्तै, इन्टरनेसनल डेटा कर्पोरेसन (आईडीसी) को प्रक्षेपणअनुसार सन् २०२८ सम्ममा विश्वव्यापी एआई क्षेत्रमा हुने खर्च ६३२ अर्ब अमेरिकी डलर पुग्नेछ भने एआई पूर्वाधार बजार पनि २०० अर्ब डलर नाघ्ने अनुमान गरिएको छ। यसैगरी, साइबर सुरक्षामा विश्वव्यापी माग तीव्र गतिमा बढिरहेको छ। इन्टरनेसनल इन्फर्मेसन सिस्टम सेक्युरिटी सर्टिफिकेशन कन्सोर्टियम (ISC2) को पछिल्लो अध्ययनले विश्वव्यापी साइबर सुरक्षा कार्यबल ५.५ मिलियन पुगे पनि अझै ४.८ मिलियनको कमी रहेको उल्लेख गरेको छ। यी तथ्याङ्कहरूले विद्यार्थीहरूलाई एआई, एमएल, एआर/भीआर र साइबर सुरक्षामा दक्ष जनशक्ति बन्ने अवसरलाई अझ प्रष्ट पार्छ।

कार्यशालामा सहभागी विद्यार्थीहरूले भर्चुअल रियालिटी (VR), अग्मेन्टेड रियालिटी (AR), आर्टिफिसियल इन्टेलिजेन्स (AI), मेसिन लर्निङ (ML), र साइबर सुरक्षा (CS) जस्ता विषयमा प्रत्यक्ष प्रशिक्षण पाएका छन्। साथै, माइक्रोसफ्टले विश्वस्तरीय विश्वविद्यालयसँगको सहकार्यमा सञ्चालन गर्ने “Empower Your Career in AI with Microsoft” अवधारणा अन्तर्गत B.Tech Computer Science and Engineering on Virtual & Augmented Reality र B.Tech Computer Science and Engineering on Cyber Forensics & Information Security जस्ता स्नातक कार्यक्रमबारे पनि विद्यार्थीलाई जानकारी दिइएको थियो।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले एआई, डाटा साइन्स, इमर्सिभ टेक्नोलोजी, साइबर सुरक्षा, मेसिन लर्निङ लगायतका क्षेत्रमा बिषयमा जानकारी, अध्ययन, तालिम, इन्टर्नसिप र छात्रवृत्ति, विश्व बिद्यालयहरुले प्रदान गर्ने शिक्षा र इन्डस्ट्रिले दिने शिक्षा, इन्डष्ट्रि सर्टिफिकेसन आदि बारे जानकारी पाएका छन्। कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो । पोखरामा सम्पन्न कार्यशालाप्रति विद्यार्थीहरूको उत्साह उच्च रहेको र यसले उनीहरूको भविष्यलाई अझ सशक्त बनाउन योगदान पुर्याउने आयोजकको विश्वास छ।

काठमाडौंमा यही कार्यशाला आजबाट सञ्चालन हुने भएकाले राजधानीका विद्यार्थीहरूले पनि अन्तर्राष्ट्रिय स्तरको अनुभव हासिल गर्ने अवसर पाउनेछन्। लामिछानेका अनुसार, आगामी वर्षहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ।