09/03/2025, 15:05:26
बुधबार, भदौ १८, २०८२

तनहुँमा दुर्घटनाः एक जनाको मृत्यु, एक गम्भीर घाइते


तनहुँ, भदौ १८ : पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पु बजारस्थित दुई स्कुटर र मोटर साइकल ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार मङ्गलबार राति करिब ११ बजे पोखराबाट दमौली जाँदै ग.२१प ३०३६ नम्बरको स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको ग.२३प ८००७ नम्बरको स्कुटर आपसमा ठोक्किँदा दुर्घटना भएको हो । दुई स्कुटर ठोकिएर घाइते भएकालाई भिआर मोटर साइकलमा सवार व्यक्तिले ठक्कर दिएको थियो ।

दुर्घटनामा तनहुँ म्याग्दे–७ का ३२ वर्षीय बिजय थापा क्षेत्री गम्भीर घाइते भई उपचारका लागि दमौली अस्पताल ल्याइएकोमा राति ११ः४२ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो ।

त्यसैगरी, कास्की पोखरा महानगरपालिका–१७ का १९ वर्षीय प्रविन क्षेत्री घाइते हुनुभएको छ । उहाँलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि पोखरास्थित गण्डकी चिकित्सा विज्ञान प्रतिष्ठान (जि.एम.सी.) पठाइएको थापाले बताउनुभयो ।

यसैबिच, दुर्घटनापछि घाइतेलाई ठक्कर दिने ग.२१प ५११४ नम्बरको मोटरसाइकल चालक, कास्की पोखरा महानगरपालिका–२१ का २० वर्षीय सहनशील थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..