काठमाडौँ, भदौ १२ : भक्तपुरको सूर्यविनायक नगरपालिका–४ र ५ को सीमावर्ती क्षेत्र हुँदै हनुमन्तेखोलामा मिसिने घट्टेखोलामा बाढी उर्लिएपछि स्थानीयवासी त्रासदीमा पर्छन् । बस्ती नै बाढीको जोखिममा पर्ने भएपछि बर्खायाम स्थानीयवासीका लागि पीडादायी बन्छ ।
भक्तपुरकै चाँगुनारायण नगरपालिका–३ का नवराज गेलालसहित स्थानीयवासीले खोलाको बाढीको पानी सिधै घरमा पसेर अत्यास सिर्जना हुन थालेको पनि एक दशक भइसक्यो । खोलाको पानी घटेपछि घर सफा गरेर दैनिकी सुरु गर्नु स्थानीयवासीका लागि नियमित जस्तै भएको छ । भक्तपुर मात्रै होइन, काठमाडौँ र ललितपुरस्थित बागमती नदी किनारका बस्तीमा बाढीले वितण्डा मच्चाउने विषय नयाँ होइन । बागमती नदीका सहायक खोला किनारका बस्ती बर्खा सुरु हुनासाथ डुबानमा पर्ने गरेका छन् । त्यस्तै दृष्टान्त कपन क्षेत्रमा बग्ने यज्ञमतीखोलाको पनि छ ।
विशेष गरी बागमती नदी किनार मिचेर बनेका घर, सुकुमवासी बस्ती र अन्य सहायक खोलाका किनार अतिक्रमण गरेर विस्तार गरिएका बस्तीका कारण स्थानीयको उठिबास हुने सन्त्रास भएको हो । काठमाडौँ उपत्यकाभित्रैका पानीका स्रोत र जलाधारमाथि भइरहेको अतिक्रमण र खोला मिच्दै बस्ती विस्तार गर्दाको परिणामस्वरूप घरजग्गा र जीवनभरि परिश्रम गरेर कमाएको जायजेथा एकै पटक सकिने गरेको छ ।
भक्तपुर सूर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता तिम्सिना भट्टराईले नगरपालिकाका सबै वडालाई खोलाले छुने र खोलाछेउका बस्ती पनि जोखिममा रहेको बताउनुभयो । उहाँले दुई दशकअघि बस्ती विस्तार हुँदा लापर्बाही भएकाले अहिले समस्या सिर्जना भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सहरीकरणसँगै बस्ती बाक्लिए । जनप्रतिनिधि नहुँदा मनपरी भयो । खोलाको मापदण्ड पालना भएन । त्यसैको परिणाम अहिले नागरिकले भोग्नु परिरहेको छ ।”
‘बस्ती सार्न सम्भव छैन’
काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–१०, ११ र १२ स्थित कपन र काठमाडौँ महानगरपालिका–६ मा पर्ने सरस्वतीनगर क्षेत्रको पानीको मूल स्रोत चखुँचाखोला खुला आकाशमुनि बग्न थालेपछि मुख्यतः सरस्वतीनगर र बुढानीलकण्ठ–१० सुरक्षित भएका छन् तर बुढानीलकण्ठ नगरमा बग्ने यज्ञमतीखोला पुरेर कलभर्ट निर्माण गरेपछि कपन क्षेत्रको बाढीको समस्या जस्ताको जस्तै छ । मिलनचोक र त्यसभन्दा माथिको भाग जलमग्न हुने गरेको छ । बुधबार मात्रै बाढीले त्यहाँ एउटा स्कुटर बगायो ।
त्यसै गरी सूर्यविनायक नगरपालिकाका वडाहरू पनि डुबानमा पर्ने गरेका छन् । उपप्रमुख तिम्सिनाले खोला किनारका बस्ती सार्न सम्भव नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “खोलाको बहाव क्षेत्र मिचेर घर बनाएको विषय अहिले उठेको छ । सूर्यविनायक नगरपालिकामा पनि त्यो समस्या छ तर अब भएका घर भत्काएर बस्ती सार्न सम्भव छैन । अहिले खोलाको बहाव क्षेत्र किटान गरेर मात्रै नक्सा पास गरिन्छ ।”