08/19/2025, 15:59:51

एनआरएन अमेरिकाको अध्यक्षमा सतेन्द्र शाह निर्वाचित


राले (अमेरिका) : गैर आवासीय नेपाली सङ्घ, (एनआरएन) राष्ट्रिय समन्वय परिषद (एनसिसी) अमेरिकाको अध्यक्षमा सतेन्द्र शाह निर्वाचित हुनुभएको छ । सोमबार घोषणा गरिएको निर्वाचन परिणामबाट शाह (२०२५–२०२७) निर्वाचित हुनुभएको हो । त्यस्तै महासचिवमा मोहन न्यौपाने विजयी हुनुभएको छ ।

अनलाइन मतदानका लागि आइतबार र सोमबार दुई दिन तोकिएको थियो । निर्वाचन समितिका अनुसार, अध्यक्ष शाहले भानु खरेल, रामहरि अधिकारी र रामजी (राज) आचार्यलाई पराजित गर्दै अध्यक्षमा विजयी हुनुभएको हो । उहाँ लगायत कार्यसमितिको कार्यकाल दुई वर्षको हुने छ । शाहले तीन हजार दुइ सय २८ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी भानु खरेलले दुई हजार पाँच सय छ मत प्राप्त गर्नुभएको थियो ।

सङ्घको वरिष्ठ उपाध्यक्षमा सन्तोष पहारी निर्वाचित हुनुभएको छ । उहाँ परशुराम दाहाल र सरोज सिग्देललाई पछि पार्दै निर्वाचित हुनुभएको हो । त्यसैगरी राष्ट्रिय उपाध्यक्ष पदका लागि प्रतिस्पर्धामा उत्रिएका १३ जनामध्ये चार जना निर्वाचित हुनुभएको छ । निर्वाचन आयोगका अनुसार, प्रदीप चौलागाईँ, डा. गङ्गाधर आचार्य, आङ्ग छिरिङ्ग शेर्पा र सुरेन्द्र लौडारी निर्वाचित हुनुभएको छ ।

समितिका अनुसार, राष्ट्रिय महिला उपाध्यक्षमा सुनीता खत्री निर्वाचित हुनुभएको छ भने सङ्घको युवा उपाध्यक्ष पदमा विजय वाइवा निर्वाचित हुनुभएको छ ।

सङ्घको महासचिवमा मोहन न्यौपाने निर्वाचित हुनुभएको छ । न्यौपानेले महासचिवका अरू प्रतिस्पर्धी अनुप खनाल र तेज पौडेललाई पराजित गर्नुभएको हो । त्यसैगरी सचिवमा सूर्य वस्ताकोटी र कोषाध्यक्षमा रविन्द्र उप्रेती निर्वाचित हुनुभएको छ । त्यस्तै महिला सचिवमा लक्ष्मी थापा र सहकोषाध्यक्षमा मोहन कुसारी निर्विरोध निर्वाचित हुनुभएको छ ।

निर्वाचन समितिका अनुसार, युवा संयोजकमा संसार चौलागाईँ र महिला संयोजकमा करिना कुँवर निर्वाचित हुनुभयो ।

सङ्घको बाेर्ड सदस्य (वोर्ड अफ डाइरेक्टर) मा आठ जना निर्वाचित हुनुुभएको छ । सो पदका लागि २३ जनाले मनोनयन गर्नुभएको थियो । निर्वाचित हुनेहरूमा सन्तोष लम्साल, माधव गौतम, बाबुराम काफ्ले, ध्रुव गौतम, राजु शाह, इन्द्रकान्त चौधरी, ओम विश्वकर्मा र हेम ब. ठकुल्ला रहुनुभएको छ । निर्वाचनमा कुल आठ हजार तीन सय तीन मत खसेको थियो । यो करिब ६३ प्रतिशत हो ।

निर्वाचन समितिका प्रमुख टुक रेग्मीले आफूले लिएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेकोमा खुसी व्यक्त गर्दै सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

संघको अध्यक्षमा निर्वाचित भएपछि एकताबद्ध एनआरएनएले मात्र एनआरएनहरूका मुद्दालाई सम्बोधन गर्नसक्ने भएकोले सबैलाई एकजुट गराएर अगाडि बढाउने आफ्नो योजना रहेको संक्षिप्त प्रतिक्रिया दिनुभयो ।

निवर्तमान अध्यक्ष डा. अर्जुन बञ्जाडेले एनआरएन अमेरिका आगामी दिनमा अझ सबल, एकताबद्ध र प्रभावकारी रूपले अगाडि बढ्न सकोस् भन्ने कामना गर्नुभएको छ । यस सिलसिलामा सहभागी सबै पक्ष र वर्गलाई धन्यवाद पनि दिनुभएको छ । यसैगरी अमेरिकाका विभिन्न राज्यका च्याप्टरको निर्वाचन पनि सम्पन्न भएको छ ।