कालीकोट, भदौ २ गते । पश्चिम नेपालकै प्रसिद्ध बडीमालिका मन्दिर जानुअघि त्रिवेणी पाटन आउँछ । यहीँको त्रिवेणी स्नान गरेर मात्रै बडीमालिकाको दर्शन गर्न जाने चलन छ ।
भक्तजनको प्रसिद्ध स्नान गर्ने यहीँ त्रिवेणी क्षेत्र अहिले कालीकोट र बाजुरा जिल्लाको विवादको विषय बनेको छ । यहीँ पाटनको नामबाट कर्णालीको कालीकोटमा सान्नीत्रिवेणी गाउँपालिका छ भने सुदूरपश्चिमको बाजुरामा त्रिवेणी नगरपालिका छ । तीन हजार आठ सय मिटरको उचाइमा रहेको यो क्षेत्रको भूगोल विवाद अहिले वडा, पालिका, जिल्ला हुँदै प्रदेशसम्म आइपुगेको छ ।

डिभिजन वन कार्यालय कालीकोटले सान्नीत्रिवेणी गाउँपालिका–८ मा पर्ने क्षेत्रमा आफूहरूले संरचना निर्माण गरेको दाबी गर्छ तर सुदूरपश्चिममा पर्ने बाजुरा जिल्लाको त्रिवेणी गाउँपालिका भने धर्मशाला निर्माण गरिएको क्षेत्र आफूहरूको ५ नं. वडामा पर्ने र हेलिप्याड निर्माण गरिएको क्षेत्र वडा नं. ६ मा पर्ने दाबी गर्छ । सान्नीत्रिवेणी गाउँपालिकाका उपाध्यक्ष पार्वती सिंहले त्रिवेणीबारे बाजुराले अनावश्यक विवाद सिर्जना गरेको आरोप लगाउनुहुन्छ । उहाँले भन्नुभयो, “हाम्रै भूगोल हो, प्रदेश सरकारले कर्णालीकै भूगोलमा संरचना निर्माण गरिरहेको छ, अर्को प्रदेशको भूगोल आफ्नो भनेर दाबी गर्न सुदूरपश्चिमलाई सुहाउँदैन ।”
सङ्घीयतापछि सुदूरपश्चिमले त्रिवेणी दाबी गर्न थालेको उपाध्यक्ष सिहंको आरोप छ । विवादको निराकरणका लागि आफूहरूले कार्यपालिकाको निर्णय गरेर प्रदेश सरकारलाई बुझाइसकेको बताउँदै उहाँले त्रिवेणीको विवाद सरकारले चाँडोे समाधान गर्नुपर्ने बताउनुभयो । उहाँले त्रिवेणी पाटनभन्दामाथिको ढुङ्गा राख्ने अर्थात् लौडी विनायकसम्म आफ्नो पालिकाको भूगोल रहेको दाबी गर्नुभयो । कर्णाली प्रदेश योजना आयोगका सदस्य अशोकनाथ योगीले त्रिवेणी पाटन कर्णाली प्रदेशको भूगोल भएको विभिन्न तथ्य र प्रमाणले देखाएको बताउनुभयो । कर्णालीकै भूगोल भएकाले त्यहाँ प्रदेश सरकारमार्फत लगानी गरेर संरचना निर्माण गरिएको उहाँले बताउनुभयो ।

उता बाजुरा त्रिवेणी नगरपालिकाका नगरप्रमुख कर्णबहादुर थापा कर्णाली प्रदेश सरकारले सम्बन्धित पालिका, जिल्ला एवं प्रदेशको स्वीकृति बेगर वडा नं. ५ मा धर्मशाला र वडा नं. ६ मा हेलिप्याड निर्माण गरेको आरोप लगाउनुभयो । उहाँले निर्माण तत्काल रोक्नुपर्ने पनि माग गर्नुभयो । उहाँले भन्नुभयो, “हामीलाई खबरै नगरी भौतिक संरचना निर्माण सुरु गरिएको रहेछ, पहिले हामीले पनि वास्ता गरेनौँ, त्यहाँ चरिचरनका लागि वर्षमा एक पटक मात्रै कालीकोट र बाजुराका मान्छे पुग्थे तर अहिले संरचना नै निर्माण हुन थालेपछि हाम्रो ध्यानाकर्षण भएको हो ।”
जुन संरचना निर्माण भएको छ त्यो तुरुन्तै हटाउनु पर्छ उहाँले माग गर्नुभयो । बडीमालिकालाई सबैको साझा भूमिकाका रूपमा अगाडि सारी समग्र क्षेत्रकै पर्यटन प्रवर्धन एवं पूर्वाधार निर्माण कार्यलाई अगाडि बढाउनुपर्ने बडीमालिकाका नगरप्रमुख अमर खड्काले सुझाव दिनुभयो । डिभिजन वन कार्यालय कालीकोटका इन्जिनियर प्रकाश सेजुवालका अनुसार कर्णाली प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको स्वीकृत वार्षिक कार्यव्रmम अनुसार आर्थिक वर्ष २०७९/८० देखि डिभिजन वन कार्यालय कालीकोटले यो कार्यक्रम सुरु गरेको जानकारी दिनुभयो । कार्यक्रम सम्झौता २०७९ असार २३ गते भएको थियो । भ्याटबाहेक पाँच करोड ५७ लाख ८६ हजार ७२३ रुपियाँमा भौतिक संरचना निर्माण गर्न ठेक्का सम्झौता गरिएको हो । जस अनुसार वडा नं. ८ मा धर्मशाला र हेलिप्याड निर्माण भइरहेको उहाँले बताउनुभयो ।

कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले त्रिवेणी पाटनको विषय दुई प्रदेशबिच आपसी समझदारीमा सुल्झाउनुपर्ने बताउनुभयो । उहाँले भूगोल कसको हो भन्ने विषय दुई प्रदेशबिच छलफल गरेर टुङ्गो लगाइनुपर्ने बताउँदै दुई प्रदेशका मुख्यमन्त्रीस्तरीय बैठकबाट यो विषयको समाधान निकाल्नुपर्ने बताउनुभयो ।

त्रिवेणी पाटन सदियौँदेखि कालीकोट, जुम्ला, मुगु र बाजुराका स्थानीयको मौसमी चरन क्षेत्र पनि हो । वर्षको चार/पाँच महिना घोडा, भेडा, भैँसी पाटनमा लगेर राख्ने गरिन्छ । पछिल्लो समय सङ्घीयता कार्यान्वयनसँगै त्रिवेणी पाटनको सीमा विवाद बढ्दै गएको छ । कर्णाली प्रदेश सरकारले त्रिवेणी पाटन क्षेत्रमा ‘त्रिवेणी बडीमालिका पर्यटकीय पूर्वाधार निर्माण आयोजना’ नाम दिएर पूर्वाधार निर्माण गरिरहेको छ । त्रिवेणी पाटनमा एक धर्मशाला, एक हेलिप्याड, शौचालय, प्रवेशद्वार, पोखरी, स्नानगृह, १०८ वटा धारा निर्माण गरिएका छन् ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!








