08/18/2025, 09:49:01

बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रँदै, केही प्रदेशमा भारी वर्षाको सम्भावना


काठमाडौँ, भदौ २ गते । जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकाले नेपालमा मनसुन केही कमजोर रहेको जनाएको छ । तथापि, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम रहिरहेको महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ ।

सोमबार देशभर साधारणतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मध्यम वर्षा भइरहेको छ र कर्णाली प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

यसैगरी, आज राति पनि देशभर साधारणतया बदली रहने महाशाखाले छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई र पहाडी भू–भागलगायत देशको बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी तराई भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

लुम्बिनी प्रदेशको तराईलगायत कोशी र बागमती प्रदेशको पहाडी भू–भागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।