काठमाडौँ, भदौ १ : खाडी मुलुक कुवेतमा विषाक्त मदिरा सेवनबाट ११ नेपाली श्रमिकको मृत्यु भएको छ । कुवेतस्थित नेपाली दूतावासका अनुसार पछिल्ला चार दिनमा ११ नेपाली श्रमिकको ज्यान गएको हो भने बिरामी अवस्थाका ४० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
कुवेतको साल्मिया क्षेत्रमा रहेका नेपाली र भारतीयलगायत विभिन्न मुलुकका नागरिकले त्यस्तो मदिरा सेवन गरेको पाइएको छ । कुवेतमा रोजगारीका लागि पुगेका १ लाख ६० हजार नेपाली छन् ।
कुवेतको स्वास्थ्य मन्त्रालयले २३ विदेशी श्रमिकको मदिरा सेवनका कारण मृत्यु भएको जनाएको छ । मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार मिथानोलयुक्त मदिरा सेवनका कारण १ सय ६० श्रमिक बिरामी परेका छन् । मिथानोल उद्योगमा प्रयोग हुने रसायन भए पनि मदिरामा त्यसको प्रयोग गरेको पाइएको हो ।
पीडित सबै एसियाली मुलुकका श्रमिक छन् । अघिल्लो शनिबारबाटै एकपछि अर्को श्रमिक बिरामी पर्न थालेका थिए । अस्पतालमा भर्ना हुनेको संख्या बढ्न थालेपछि कुवेतको लागूऔषध नियन्त्रण केन्द्र र सुरक्षा एजेन्सीसहितका निकाय सक्रिय भएका थिए । कुवेती स्वास्थ्य मन्त्रालयको विज्ञप्तिमा ३१ जना बिरामीको भेन्टिलेटरमा उपचार भइरहेको उल्लेख छ । त्यस्तै ५१ जनालाई आपत्कालीन मृगौला डायलसिस जारी रहेको भनिएको छ ।
कतिपय आकस्मिक रूपमै अन्धोपनको सिकार पनि भएको जानकारी गराइएको छ । धेरै बिरामीलाई सघन उपचार कक्षमा राखेर चिकित्सकको २४ घण्टे निगरानीमा राखिएको छ । विषाक्त मदिरा कहाँबाट आयो, त्यसको कुवेत सरकारले अनुसन्धान गरिरहेको छ ।
कुवेतको स्वास्थ्य मन्त्रालयले जीवन बचाउनका लागि त्यस्तो व्यवहार नगर्न सचेतसमेत गराएको छ । नेपाली दूतावासका श्रम सहचारी गिरिप्रसाद आचार्यले भने, ‘दूतावासले नेपाली कम्युनिटी र यहाँको सरकारसँग सम्पर्कमा रहेर आवश्यक समन्वय गरिरहेको छ ।’ शंका लागेर अस्पतालमा उपचार गराउन जाने नेपालीको संख्या पनि थपिँदै गएको आचार्य बताउँछन् ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता सहसचिव लोकबहादुर क्षेत्रीले कुवेतमा भएको घटनाबारे जानकारी प्राप्त भएपछि त्यहाँस्थित दूतावासलाई सक्रिय रहन निर्देशन दिइएको बताए । ‘कुवेत सरकार र पीडित परिवारसँग समन्वय र सम्पर्कमा रहन भनेका छौं,’ उनी भन्छन्, ‘त्यहीअनुसार दूतावासबाट काम भइरहेको छ ।’
पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष एकराज मल्लले विषाक्त मदिरा सेवन गरेकाहरू बिरामी भएर अस्पताल भर्ना भएको बताए । कुवेतमा मदिरा, लागूऔषधको उत्पादन ओसारपसार र बिक्री वितरण पूर्ण रूपमा प्रतिबन्धित हुँदाहुँदै लुकीछिपी त्यसको प्रयोग भइरहँदा यस्ता घटना भएको उनले बताए ।
कुवेत लगायतका खाडी मुलुकमा लाखौं नेपाली श्रमिक छन् । अन्य खाडी मुलुकजस्तै कुवेतमा मदिराको उत्पादन र प्रयोग निषेधित छ । तर, एसियाली मुलुकका श्रमिक अवैध रूपमा खरिदबिक्री गर्छन् । मदिरा सेवन र बिक्री वितरणका आरोपमा नेपाली श्रमिक पनि जेल पर्ने गरेका छन् ।