08/12/2025, 18:56:28

सामाजिक सञ्जालमार्फत ‘नेप्से एआई’ एप डाउनलोड गराई लाखौं ठगी, सतर्क रहन सीआईबीको आग्रह


काठमाडौँ, साउन २७ : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ‘नेप्से एआई’ नामको एप डाउनलोड नगर्न आग्रह गरेको छ।

फेसबुक, इन्स्टाग्राम, टिकटकजस्ता सामाजिक सञ्जालमा देखिने विज्ञापनमार्फत प्रयोगकर्तालाई उक्त एप डाउनलोड गर्न प्रलोभन दिइने र इन्स्टल गरेपछि मोबाइल वा कम्प्युटरमा नियन्त्रण पुग्ने तथा बैंक खाताबाट लाखौं रुपैयाँ अनधिकृत रूपमा स्थानान्तरण हुने घटना दर्ता भएपछि सीआईबीले यस्तो अनुरोध गरेको हो ।

सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार सेयर बजारसम्बन्धी विज्ञापन देखाएर उक्त एप डाउनलोड गरेपछि एक जना प्रयोगकर्ताको २८ लाख ६१ हजार रुपैयाँ अन्यत्र खातामा ट्रान्सफर भएको र पीडितको मोबाइलमा रहेका डेटा तथा एपहरूसमेत डिलिट भएको उजुरी सीआईबीमा दर्ता भएको छ ।

यस्ता आपराधिक गतिविधिबाट बच्न सीआईबीले प्रयोगकर्तालाई टु–फ्याक्टर अथेन्टिकेसन प्रयोग गर्न, पासवर्ड समय–समयमा परिवर्तन गर्न, अज्ञात लिङ्क वा एप इन्स्टल नगर्न, रिमोट एक्सेस दिने एपहरू प्रयोग नगर्न र आधिकारिक स्टोरबाट मात्र एप डाउनलोड गर्न आग्रह गरेको छ ।

यस्ता घटना भएमा तत्काल बैंक, नजिकको प्रहरी कार्यालय वा साइबर ब्यूरोमा सम्पर्क गर्न समेत सीआईबीले आग्रह गरेको छ ।