08/11/2025, 20:31:26

युक्रेन र सर्बियासँग नेपालको फ्रि-भिसा प्रवेशको सम्झौता


२६ साउन, काठमाडौं : नेपालले युक्रेन र सर्बियासँग भिसा-फ्रि प्रवेशको व्यवस्था गर्ने सम्झौता गरेको छ । यस्तो सुविधा कूटनीतिक, सरकारी तथा सेवा प्रयोजनका लागि प्रयोग हुने राहदानीवाहकलाई मात्रै हो । सम्झौतापछि यी प्रकारका राहदानीवाहकलाई एक-अर्काको देशमा भिसाबिना प्रवेश गर्न सक्ने सुविधा मिल्नेछ । उनीहरूले ९० दिनसम्म यात्रा गर्न सक्नेछन् ।

परराष्ट्र मन्त्रालयका अनुसार सम्झौता कार्यान्वयनमा आएपछि नेपाल, युक्रेन र सर्बियाबीच उच्चस्तरीय भ्रमण, सरकारी कार्य तथा सेवासम्बन्धी यात्रामा सहजता हुने अपेक्षा गरिएको छ । यस कदमले सरकारी तहमा हुने सांस्कृतिक, आर्थिक तथा कूटनीतिक आदान-प्रदानलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ ।

नेपालका तर्फबाट परराष्ट्रमन्त्री आरजु राणा देउवा र युक्रेनका तर्फबाट परराष्ट्रमन्त्री आन्द्री साइबिबा र सर्बियाका तर्फबाट मार्को जुरिकबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । संव‌ैधानिक व्यवस्थाअनुसार यस सम्झौताबारे संसद्लाई जानकारी गराइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सम्झौता अनुमोदनका लागि संघीय संसद्‌मा दर्ता गरिएको छ ।

सम्झौतामा तोकिएको अवधि र शर्त उल्लंघन भएमा सम्बन्धित देशको आप्रवासन कानुन लागू हुने सम्झौतापत्रको आर्टिकल ४ मा भनिएको छ । नेपाल र युक्रेनबीच २५ सेप्टेम्बर २०२४ मा सम्झौता भएको थियो । नेपाल र गणतन्त्र सर्बियाबीच १८ मार्च २०२५ मा भिसा छुटसम्बन्धी सम्झौता भएको थियो ।