२५ साउन, धनुषा : जनकपुरधाम उपमहानगरपालिका–९, ब्रह्मपुरीस्थित थापाचोक नजिक आइतबार बिहान रेल र एक कार एकापसमा ठोक्किँदा दुर्घटना भएको छ ।
बागमती प्रदेश ०१–०२५ च. १२९० नम्बरको कार बिहान ८ः३० बजे महोत्तरीको पिपराढी स्टेसनबाट जनकपुरधामतर्फ आउँदै गरेको नेपाल रेल्वेको रेलसँग ठोक्किएको हो । दुर्घटना रेलमार्ग नजिकैको ‘क्रसिङ एरिया’मा भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वरुणबहादुर सिंहले जानकारी दिनुभयो ।
स्थानीय प्रत्यक्षदर्शीहरूका अनुसार रेलले कारलाई ठक्कर दिँदा ठूलो आवाज आएको थियो । कारमा तीन जना सवार थिए । उनीहरुलाई सामान्य चोटपटक लागेको छ भने कारमा ठुलो क्षति पुगेको छ ।
दुर्घटनापछि केही समय रेल सेवा अवरुद्ध भएको जनाइएको छ भने सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता सिंहले जानकारी दिनुभयो ।