08/06/2025, 18:10:43

जिम्मेवार भएर जनताको सेवा गर्ने बागमती मुख्यमन्त्री बानियाँको प्रतिबद्धता


२१ साउन, हेटौँडा : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले उत्तरदायी, जिम्मेवार र पारदर्शी भई निष्पक्षताका साथ जनताको सेवा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

बुधबार बिहान नेपाली कांग्रेस बागमती प्रदेश समितिले आयोजना गरेको स्वागत तथा बधाई ज्ञापन कार्यक्रममा बोल्दै उहाँले जनतालाई न्याय, शान्ति र विकास दिन आफू र आफ्नो मन्त्रिमण्डल पहिलो प्राथमिकता रहेको स्पष्ट पार्नुभयो ।

राजनीति सेवा र धर्म हो,राजनीति व्यापार हैन, व्यापारमा नाफा नोक्सान हुन्छ, तर, राजनीतिमा न्याय हुन्छ, हामीले जनतालाई न्याय दिन, शान्ति दिन विकास दिनका लागि राजनीति गरेको हो,” मुख्यमन्त्री बानियाँले भन्नुभयो ।

नेपाली कांग्रेस बागमती प्रदेशले प्रदेशका नवनियुक्त मुख्यमन्त्री बानियाँसहित पार्टीबाट मन्त्री बनेकाहरूलाई स्वागत गरेको हो । मुख्यमन्त्री बानियाँसहित खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङ र बिना विभागीय मन्त्री शिवराज अधिकारीलाई स्वागत, सम्मान तथा शुभकामना कार्यक्रम आयोजना गरिएको हो ।

हेटौँडाको सानो पोखरामा रहेको नेपाली कांग्रेस बागमती प्रदेश पार्टी कार्यालयमा पार्टी प्रदेश उपसभापति चन्द्र महर्जनलगायतले पार्टी सभापतिसमेत रहेका मुख्यमन्त्री बानियाँलगायत मन्त्रीहरूलाई स्वागत गर्नुभएको थियो । कार्यक्रममा पार्टी महामन्त्री कञ्चनचन्द्र बादेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको हो ।

विपन्न परिवारका ६ जनालाई डाक्टर पढाउने निर्णय

यस्तै बागमती प्रदेश सरकारले प्रदेशभरका विपन्न परिवारका ६ जनालाई डाक्टर र १० जनालाई नर्स पढाउने निर्णय गरेको छ ।

मङ्गलबार बसेको मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेको हो । बागमती प्रदेशका मुख्यमन्त्रीमा नियुक्त हुनुभएका इन्द्रबहादुर बानियाँ नेतृत्व सरकारको मङ्गलबार बसेको पहिलो मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले आर्थिक अभावका कारण उच्च शिक्षा अध्ययन गर्न नपाएका विपन्न र सीमान्तकृत परिवारका जेहेनदार विद्यार्थीलाई सामाजिक विकास मन्त्रालयबाट छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको हो ।

जेहेनदार र विपन्नमध्ये छनाेट गरी मेडिकल डाक्टर २ जना, आयुर्वेद डाक्टर २ जना र भेटेरिनरी डाक्टर २ जना साथै १० जनालाई नर्सलाई पूर्ण छात्रवृत्ति दिने निर्णय भएको सरकारका प्रवक्ता खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्को बैठकले प्रदेशभित्र रहेका अति गरिब र सीमान्तकृत समुदाय, दलित चेपाङ, बोटे, जिरेल हायु वनकरियालगायतलाई जीवनयापनको सहयोगका लागि गाँसबास र कपासको प्रबन्ध गर्न उच्च प्राथमिकताका साथ नीति बनाई यथाशीघ्र कार्यान्वयन गर्ने निर्णयसमेत गरेको उहाँले बताउनुभयो ।

त्यस्तै प्रदेशका मुख्यमन्त्री बानियाँले आफूले मुख्यमन्त्री भएबापत प्राप्त हुने तलब भत्ताको रकमबाट आफू निर्वाचित भएको क्षेत्रका विपन्न परिवारको घर निर्माण गरिदिने हुनुभएको छ ।

उहाँले आफूले प्राप्त गर्ने तलबभत्ताको रकमबाट आफू निर्वाचित मकवानपुर क्षेत्र नम्बर २(ख) का अति विपन्न परिवार छनाेट गरी घर निर्माण गरिदिने हुनुभएको हो ।