08/04/2025, 16:47:57

स्वास्थ्य मन्त्रालयद्वारा २१ सय जनशक्ति थप्न अर्थ मन्त्रालयलाई प्रस्ताव


१९ साउन, काठमाडौं : आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयन सम्बन्धमा सोमबार अर्थ मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच छलफल भएको छ ।

सो अवसरमा स्वास्थ्य मन्त्रालयले विशिष्टीकृत सेवा र सेवा विस्तारका लागि संघीय अस्पतालका लागि डाक्टर, नर्ससहित २१ सय जनशक्ति थप गर्न प्रस्ताव गरेको छ । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले सात वटा प्रदेशमा सेवा विस्तार र स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन थप जनशक्ति आवश्यक रहेको बताए ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वास्थ्य सेवा प्रवाहलाई छिटो, प्रभावकारी र गुणस्तरीय बनाउन दक्ष डक्टर, नर्सलगायतका जनशक्ति जरुरी भएको र जनशक्तिबारे थप परामर्श गरी अघि बढ्ने बताएको विज्ञप्तिमा उल्लेख छ ।

सो अवसरमा स्वास्थ्य बिमा, सामाजिक सुरक्षा, बालबालिकालाई उपलब्ध गराइने निःशुल्क औषधी, भक्तपुरको दुवाकोटमा बनाइने वीर अस्पतालको डीपीआर, जलन लगायतका विषयमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ ।