08/03/2025, 22:36:47

निर्मला पन्त प्रकरण नयाँ शिराबाट अनुसन्धान गर्न सीआईबीलाई गृहमन्त्री लेखकको निर्देशन


१८ साउन, काठमाडौं : गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण नयाँ शिराबाट गम्भीर अनुसन्धान थाल्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई निर्देशन दिएका छन् ।

आइतबार सीआईबीको कार्यालय निरीक्षणका क्रममा मन्त्री लेखकले सूक्ष्म रुपमा निर्मला पन्त प्रकरण अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् । उनले निर्मला प्रकरणको अनुसन्धानमा कुनैकसर बाँकी नराख्न सीआईबीलाई निर्देशन दिएका छन् ।

निर्मला पन्त लगायत ब्युरोले अनुसन्धान गरिरहेको सबै जटिल घटनाको अनुसन्धानमा तीव्रता दिन आग्रह गर्छु,’ गृहमन्त्री लेखकले भने, ‘नेपाल प्रहरीभित्र पनि सीआईबीप्रति आम जनताको भरोसा बढेको छ, यसलाई अटल राखेर काम गर्नुपर्छ ।

सीमित स्रोत साधनकाबीच प्रहरीमा सीआईबीले कार्यसम्पादनमा सफलता हासिल गर्दै गएकोप्रति खुसी व्यक्त गर्दै मन्त्री लेखकले सीआईबीलाई साधनस्रोत सम्पन्न बनाउन मन्त्रालय गम्भीर रहेको बताए । मुलुकमा पछिल्लो समय वित्तीय अपराध बढेकाले आफूले वित्तीय अपराध नियन्त्रणका लागि वित्तीय अपराध अनुसन्धान महाशाखा गठन गरेको जानकारी दिए ।

प्रहरीप्रतिको भरोसा बढेर गएकै कारण देशभरबाट प्रहरी चौकी माग हुदै आएको छ,’ उनले भने, ‘प्रहरीलाई सुविधा सम्पन्न बनाउन विगतको भन्दा चालु आर्थिक वर्षमा तुलनात्मक रुपमा बजेट बढी विनियोजन गरिएको छ ।‘ प्रहरीभित्र सीआईबीको महत्त्वपूर्ण जिम्मेवारी रहेको भन्दै उनले जिम्मेवारी पूरा गर्न प्रविधि, जनशक्ति लगायतका विकास गरिनेमा जोडदिए ।

सो क्रममा सीआईबीका वरिष्ठ प्रहरी उपरीक्षक होविन्द्र बोगटीले सीआईबीले गरिरहेको काम, कारबाही, पाइरहेको सफलता र कार्यसम्पादनमा रहेका चुनौती लगायतका विषयमा प्रस्तुति दिएका थिए । वरिष्ठ उपरीक्षक बोगटीले सिआईबीले निर्मला पन्त प्रकरणका साथै अरु घटना सम्बन्धमा पनि अनुसन्धान जारी रहेको जानकारी गराएका थिए । कार्यक्रममा प्रहरी महानिरीक्षक दिपक थापा, सीआईबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रकुवेर खापुङ् लगायत सीआईबीका कार्यरत प्रहरी अधिकारी सहभागी थिए ।