08/01/2025, 02:24:52

३ अर्ब २० करोडभन्दा बढी रकम अपचलन गरेको भन्दै कर्णाली विकास बैंकका १०९ जनाविरुद्ध मुद्दा दर्ता


१५ साउन, नेपालगन्ज : बाँकेको नेपालगन्जमा प्रधान कार्यालय रहेको कर्णाली विकास बैंकमा ३ अर्ब २० करोड भन्दा बढी रकम अपचलन भएको निष्कर्षसहित मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय बाँकेले १ सय ९ जनालाई प्रतिवादी बनाउँदै उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलासमा बुधबार मुद्दा दर्ता गरेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धान प्रतिवेदनका आधारमा मुद्दा दर्ता गरिएको हो ।

बैंकमा घोटाला गरेको भन्दै पक्राउ परेका चार जनासहित १०९ जनालाई प्रतिवादी बनाएर ३ अर्ब २० करोड ११ लाख ५४ हजार १ सय ५७ रुपियाँ बिगो कायम गरेर मुद्दा दर्ता गरिएको उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलासका सूचना अधिकारी बलबहादुर विष्टले जानकारी दिए । मुद्दामा १०९ जनालाई प्रतिवादी बनाइए पनि बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय, संस्थापक सदस्य एवम् पूर्वअध्यक्ष पशुपति दयाल मिश्र, बैंकका वित्त शाखा प्रमुख वेदप्रकाश सिंह ठकुरी र राष्ट्र बैंकका पूर्व कर्मचारी भुवन बस्नेतसहित चार जना मात्रै पक्राउ परेको र अन्य १ सय ५ जना फरार छन् ।

उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलासका सूचना अधिकारी विष्टका अनुसार बैंकका संस्थापक अध्यक्ष रायका नाममा २ अर्ब ६३ करोड ३२ लाख १६ हजार ५ सय ९७ रुपियाँ, संस्थापक सदस्य एवं पूर्वअध्यक्ष मिश्रका नाममा ८२ करोड ४६ लाख २९ हजार, बैंकका वित्त शाखा प्रमुख वेदप्रकाश सिंह ठकुरीका नाममा २४ करोड ६३ लाख ९९ हजार र नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी बस्नेतका नाममा १० लाख ८९ हजार २ सय ५० रुपियाँ विगो कायम गरिएको छ ।

१०८७ पृष्ठको सो मुद्दाको मिसिल रुजु गर्ने कार्य भइरहेको छ । पक्राउ परेकाको बयान लिने कार्य बिहीबारबाट सुरु गरिने र त्यसपछि मुद्दाको कारबाही निरन्तर जारी रहने अदालत स्रोतले बताएको छ । घोटालामा पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखेर सीआईबीले अनुसन्धान गरेको थियो ।

बैक अध्यक्ष डा. मिश्रको संयोजकत्वमा ५ पुसमा पाँच सदस्यीय विशेष छानबिन समिति गठन भएको थियो । समितिले प्रारम्भिक प्रतिवेदन तयार पारी ८ पुसमा आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय बाँके, जिल्ला प्रहरी कार्यालय बाँके र नेपाल राष्ट्र बैंकको वित्तीय सुपरिवेक्षण विभागलाई प्रतिवेदन बुझाएको थियो ।

बैंक ठगीको यो भयावह अवस्थापछि नेपाल राष्ट्र बैंकले गत पुस १० गते समस्याग्रस्त घोषणा गरी व्यवस्थापन आफैं सम्हालेको थियो ।

राष्ट्र बैंकको कारबाहीमा परेको यो बैंक २०६० फागुनमा स्थापना भएको हो । साबिकको मध्य तथा सुदूरपश्चिमको पहिलो विकास बैंक हो । यसको बाँकेको कोहलपुर, खजुरा, शमशेरगन्ज, बैजापुर, बर्दियाको बाँसगढी, भुरीगाउँ, सानोश्री, गुलरिया, ठाकुरद्वारा, राजापुर र दाङको तुल्सीपुर, बिजौरी, नारायणपुर, घोराही, लमही, भालुवाङ, गढवा र सिसहनियामा शाखा छन् ।