१४ साउन, मकवानपुर : बागमती प्रदेश कांग्रेस संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् । बुधबार भएको निर्वाचनमा मुख्यमन्त्री समेत रहेका बहादुरसिंह लामा (तामाङ) लाई पराजित गर्दै बानियाँ दलको नेतामा निर्वाचित भएका हुन् ।
बानियाँले २२ मत प्राप्त गरे भने लामाको पक्षमा १४ मत परेको निर्वाचन समितिले जनाएको छ । १ मत बदर भएको छ । बागतीमा कांग्रेसका ३७ सांसद छन् । बानियाँ कांग्रेस बागमती प्रदेश सभापति हुन् ।
यसअघि प्रदेश संसदीय दलको नेता रहेका लामाविरुद्ध बानियाँको नेतृत्वमा अविश्वासको प्रस्ताव ल्याएर हटाइएको थियो । लामाविरुद्ध अविश्वासको प्रस्तावमा मंगलबार भएको मतविभाजनमा २२ जनाले अविश्वास प्रस्तावको पक्षमा हस्ताक्षर गरेका थिए । लामाको पक्षमा १५ सांसद उभिएका थिए । लामाले दल नेताको हैसियत गुमाएपछि दलको नयाँ नेता चयनका लागि बुधबार निर्वाचन भएको हो ।
लामाले २०७९ पुस १३ मा भएको प्रदेश संसदीय दलको नेता चयन निर्वाचनमा भने बानियाँलाई पराजित गरेका थिए । त्यत्तिबेलाको मतान्तर ५ रहेको थियो । मुख्यमन्त्री लामा र बानियाँ दुवै कांग्रेस सभापति शेरबहादुर देउवा निकट नेता हुन् ।
कांग्रेस दल नेता छान्न प्रदेश सहमहामन्त्री हरिशरण श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति बनाइएको थियो ।
लामाले संसदीय दल नेताको हैसियत गुमाए पनि मुख्यमन्त्री पदबाट राजीनामा नदिने बताएका छन् । उनले बुधबार मात्रै ३ जना मन्त्री नियुक्त गरेका छन् । बानियाँलाई समर्थन गर्न भन्दै प्रदेश सरकारमा कांग्रेसबाट मन्त्री बनेका ५ जनाले राजीनामा दिएका थिए ।