07/31/2025, 01:01:27

बागमती प्रदेशमा कांग्रेस संसदीय दलको नेता छान्न आज निर्वाचन


१४ साउन, काठमाडौं : बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामाले प्रदेश कांग्रेस संसदीय दलको नेताको हैसियत गुमाएका छन् । लामाविरुद्धको अविश्वासको प्रस्तावमा मंगलबार भएको मतविभाजनमा कांग्रेसका ३७ सांसदमध्ये २२ जनाले अविश्वास प्रस्तावको पक्षमा हस्ताक्षर गरेका थिए । दलको नयाँ नेता चयनका लागि बुधबार निर्वाचन हुने भएको छ ।

कांग्रेस प्रदेश कार्यसम्पादन समितिले प्रदेश सहमहामन्त्री हरिशरण श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति बनाएको छ । निर्वाचन समितिमा प्रदेश सहमहामन्त्रीद्वय ऋषिराम घिमिरे र जीवन डंगोल सदस्य छन् । निर्वाचन समितिले बुधबार बिहान ८ बजे मतदाता नमावली प्रकाशन र दिउँसो २ बजेदेखि मतदानको समय तोकेको छ ।

मतविभाजनमा मुख्यमन्त्री लामाका पक्षमा १५ जना मात्र देखिएका छन् । अविश्वास प्रस्तावको पक्षमा हस्ताक्षर गर्नेहरू कांग्रेस प्रदेश सभापति तथा प्रदेश सांसद इन्द्रबहादुर बानियाँ पक्षधर हुन् । यसअघि १३ पुस २०७९ मा भएको दल नेताको निर्वाचनमा भने लामाले बानियाँलाई ५ मतले पराजित गरेका थिए । बागमती प्रदेशमा कांग्रेसका ३७ सांसद छन् । मुख्यमन्त्री लामा र बानियाँ दुवै कांग्रेस सभापति शेरबहादुर देउवा निकट नेता हुन् ।

बानियाँकै नेतृत्वमा दर्ता लामाविरुद्ध यस पटक अविश्वास प्रस्ताव दर्ता गरिएको थियो । बागमतीमा मुख्यमन्त्री परिवर्तनका लागि कांग्रेसका पाँच मन्त्रीले राजीनामा समेत दिएका थिए । ९ साउनमा चार मन्त्रीले राजीनामा दिएकामा मंगलबार मात्रै खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री श्यामबहादुर खड्काले पनि राजीनामा बुझाएका थिए । यसअघि राजीनामा बुझाएका चार मन्त्रीलाई भने मुख्यमन्त्री लामाले पदमुक्त गरेका थिए ।

लामाले संसदीय दल नेताको हैसियत गुमाए पनि मुख्यमन्त्री पदबाट राजीनामा नदिने बताएका छन् । ‘संसदीय दलको नेताबाट हटे पनि मुख्यमन्त्रीबाट राजीनामा दिनुपर्छ भन्ने छैन,’ उनले भने, ‘मुख्यमन्त्री हुनलाई दलको नेता नै चाहिँदैन, पार्टीको संसदीय दलको नेताबाट हटे पनि मुख्यमन्त्रीबाट हटाउनुपर्ने कुनै कारण छैन ।