११ असोज, काठमाडौँ । एक/दुई स्थानलाई छाडेर देशभर २४ घण्टाभन्दा बढी समयदेखि लगातार वर्षा भइरहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार केही ठाउँबाहेक मुलुकभर निरन्तर पानी परिरहेको हो।
‘दार्चुला र आसपासका क्षेत्रमा पानी केही कम परेको छ, त्यता एक/दुई स्थानबाहेक देशका सबै ठाउँमा वर्षा भइरहेको छ, कतिपय स्थानमा त २४ घण्टाभन्दा बढी पनि भइसकेको छ, तर देशका अधिकांश स्थानमा २४ घण्टादेखि लगातार वर्षा भइरहेको छ’, शुक्रबार साँझ उनले भनिन्। मौसमविद् कँडेलका अनुसार भोलि शनिबार दिउँसोदेखि केही स्थानमा मौसम सुधार हुने सम्भावना रहे पनि देशका अधिकांश स्थानमा आइतबार बिहानसम्म झरी रोकिने संकेत देखिएको छैन।
‘भोलि (शनिबार) बिहानसम्म त देशभर नै वर्षा रोकिने सम्भावना देखिएको छैन, भोलि दिउँसोबाट लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा मौसम केही सुधार हुने देखिए पनि अन्य प्रदेशमा भने आइतबार बिहानसम्म वर्षा रोकिने सम्भावना देखिएको छैन।’ उनले भनिन्। यसैबीच काठमाडौँ उपत्यकामा पनि भोलि पनि वर्षा रोकिने सम्भावना नरहेको उनको भनाइ छ।
आज राति यस्तो छ वर्षाको सम्भावना
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति पनि मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थान तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ-गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
अनि बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना छ। साथै कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा धेरै भारी र एक/दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना छ। तराईका केही स्थानमा राति हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













