११ असोज, काठमाडौँ । लगातार वर्षासँगै देशभरको तापक्रम स्वाट्टै घटेको छ। मौसम पूर्वानुमान महाशाखाले दिएको विवरणअनुसार दोलखाको जिरीबाहेक देशका बाँकी सबै स्टेसन (महाशाखाद्वारा स्थापित ताप मापन केन्द्र) मा तापक्रम ह्वात्तै घटेको पाइएको हो।
हिजो अर्थात् बिहीबार सबैभन्दा बढी अधिकतम तापक्रम धनगढीमा ३३.८ डिग्री सेल्सियस थियो। आज (शुक्रबार) त्यहाँको अधिकतम तापक्रम स्वाट्टै घटेर २७.५ डिग्री सेल्सियसमा झरेको हो। यस्तै धनगढीमा हिजो न्यूनतम तापक्रम २५ डिग्री सेल्सियस रहेकामा आज घटेर २४ डिग्री सेल्सियसमा झरेको छ।
बिहीबार सबैभन्दा कम अधिकतम तापक्रम मुस्ताङ जोमसोममा अधिकतम २१ डिग्री सेल्सियस थियो भने आज घटेर १४ डिग्री सेल्सियसमा झरेको छ। यसैगरी देशको केन्द्रीय राजधानी काठमाडौँमा हिजो बिहीबार अधिकतम तापक्रम २५.५ र न्यूनतम २०.८ डिग्री सेल्सियस थिए भने आज घटेर अधिकतम १९ र न्यूनतम १७.५ डिग्री सेल्सियसमा झरेको छ।
आज दोलखाको जिरी स्टेसनमा मात्र हिजोको भन्दा तापक्रम थोरै बढेको मौसम महाशाखाको तथ्यांकले देखाएको छ। त्यहाँ बिहीबार अधिकतम तापक्रम २१.६ रहेकामा आज बढेर २३.९ डिग्री सेल्सियस भएको हो। तर न्यूनतम तापक्रम भने जिरीमा पनि आज घटेको छ। त्यहाँ हिजो न्यूनतम १६.८ डिग्री सेल्सियस रहेकामा आज घटेर १६.४ डिग्री सेल्सियसमा झरेको हो।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













