काठमाडौँ, ९ साउनः नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका संरक्षक तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृतिको क्षेत्रसँग सम्बन्धित रहेर कार्य गर्ने निकायबीच समन्वय र सहकार्य बढाउनुपर्ने बताउनुभएको छ ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा आज भएको एक छलफलमा मन्त्री पाण्डेले समन्वय, साझेदारी र सहकार्यमार्फत काम गर्दा धेरै प्रगति गर्न सकिने बताउनुभयो ।
मन्त्री पाण्डेसँग आज प्रतिष्ठानका कुलपति, उपकुलपति, सदस्य सचिव तथा प्राज्ञ परिषद् सदस्यहरूले नेपाली ललितकलाका विविध विषय तथा क्षेत्रसँग सम्बन्धित विषयमा छलफल गर्नुभएको थियो । हालको कार्यसमितिको दुईवर्षे कार्य विवरणमा उत्साहजनक दृष्टिकोण देखिएको बताउँदै उहाँले मन्त्रालयसँग सम्बन्धित सबै कुरामा सक्दो सहयोग तथा सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभयो ।
सो क्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले समय निकालेर प्रतिष्ठानको कुरा विस्तृतमा सुनिदिनुभएकोमा मन्त्री पाण्डेलाई आभार व्यक्त गर्दै प्रतिष्ठानको ऐन समायानुकूल परिवर्तनका लागि मन्त्रालयले सार्थक पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
उपकुलपति लालकाजी लामाले सांस्कृति सम्पदाको मूल्य ललितकलाले नै स्थापित गरेकाले सोको सर्वाङ्गीण विकासका लागि यसबाट प्राप्त रोयल्टीको निश्चित रकम यस क्षेत्रको विकासका लागि छुट्याउनुपर्ने धारणा राख्नुभयो ।
छलफलमा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले प्रतिष्ठानले दुई वर्षमा सम्पन्न गरेका कार्य, त्यसको परिणाम तथा आगामी दिनमा गरिने कार्यक्रमको विस्तृत जानकारीसहित नेपाली ललितकलाको क्षेत्रको अवधारणा, विकास, उत्थान, प्रवर्द्धनका लागि गरिनुपर्ने कानुनुी, रणनीतिक, कार्यक्रमिक तथा योजनागत कार्यहरूका बारेमा जानकारी दिनुभएको थियो ।
छलफलमा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, उपकुलपति लालकाजी लामा, सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, परम्परागत चित्रकला विभाग प्रमुख पाल्साङ्मो लामा, वास्तुकला तथा लोककला विभाग प्रमुख प्रदीप अधिकारी, बहुआयामिक तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला विभाग प्रमुख सौरगङ्गा दर्शनधारी, मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतो, समसामयिक चित्रकला विभाग प्रमुख सञ्जय वान्तवा, शिल्प–हस्तकला विभाग प्रमुख अरुणा हिङ्माङ लगायतको उपस्थिति रहेको थियो ।