मङ्गलबार, पुष ०९, २०८१

आज लगातार झरी पर्ने सम्भावना छ र भोलि पूर्वतिर खुल्दै जान्छ तर पश्चिमतिर बढ्दै जाने देखिन्छ : मौसम पूर्वानुमान महाशाखा


११ असोज, काठमाडौं । आज लगातार झरी पर्ने मौसमविदले बताएका छन् । भोलिदेखि भने पूर्वी भागतिर कम पानी पर्ने र पश्चिमतिर पानी पर्ने क्रम बढ्दै जाने पूर्वानुमान छ । नेपालमा मनसुनी वायु कायमै रहेका बेला बंगालको खाडीबाट जलवाष्पयुक्त वायु नेपाल प्रवेश गरेपछि त्यसैको प्रभावले देशभर वर्षा भइरहेको छ । त्यसको प्रभावले आइतबारसम्म सिमसिमदेखि भिषण वर्षासम्म हुनसक्ने प्रक्षेपण गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाले भने, ‘आज लगातार झरी पर्ने सम्भावना छ र भोलि पूर्वतिर खुल्दै जान्छ तर पश्चिमतिर बढ्दै जाने देखिन्छ ।’ आइतबारदेखि भने देशभर नै मौसममा क्रमिक सुधार देखिँदै जाने सम्भावना रहेको उनले बताए ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले अझै ४८ घण्टा लगातार झरी पर्ने सम्भावना रहेको बताएका छन् । उनका अनुसार आज मध्य पहाडी क्षेत्रमा भारी वर्षाको धेरै सम्भावना छ ।

गत २४ घण्टामा केचना र विराटनगरमा सबैभन्दा बढी वर्षा

गत २४ घण्टाको वर्षाको विवरण हेर्दा पूर्वी र पश्चिम तराईमा धेरै वर्षा भएको देखिन्छ भने बाँकी भागमा मध्यम र हल्का वर्षा भएको छ । गत २४ घण्टामा झापाको केचना र मोरङको विराटनगर एयरपोर्टमा सबैभन्दा बढी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार केचनामा १७५ मिलिमिटर र विराटनगर एयरपोर्टमा १५१ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।

झापाको गौरादह, उदयपुरको सुन्दरपुर र सप्तरीको रुपना बजारमा पनि अत्यधिक वर्षा भएको छ । यसैगरी झापाकै चन्द्रगढी एयरपोर्ट, इलामको कन्काईमाई चुली, कन्याम टि स्टेट, सप्तरीको कल्याणपुर, सिरहा र कैलालीको अत्तरियामा एकसय मिलिमिटर भन्दा बढी वर्षा भएको छ ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading