गलकोट (बागलुङ), ५ साउनः निर्माण व्यवसायीले काम जारी नराख्दा १५ शय्याको बागलुङ नगर अस्पताल भवन निर्माण अन्यौलमा देखिएको छ । अहिले निर्माणधीन अस्पताल भवनमा घाँस उम्रिन थालेको छ । अस्पताल भवन निर्माण थालिएको चार वर्ष लाग्दा अस्पतालको जम्मा ५६ प्रतिशत मात्रै भौतिक प्रगति देखिएको छ । निर्माणमा ढिलासुस्ती भएका कारण अस्पतालका रडमा खिया लागेको छ, भने भित्तामा घाँस उम्रेको पाइएको छ । दुई वर्षमा सक्ने भनेको भवनको सम्झौता तीन पटक म्याद थप्दासमेत अझै सम्पन्न नभएको बागलुङ नगरपालिकाले जनाएको छ ।
भवन निर्माणका लागि तेस्रो पटक २०८३ असार १९ गते सम्म म्याद थपेको बागलुङ नगरपालिकाले जनाएको छ । पटक–पटक ताकेता गर्दासमेत भवन निर्माण सम्पन्न नभएको र सङ्घीय बजेट भएकाले बाध्य भएर म्याद थप गरेको बागलुङ नगरपालिकाका इञ्जीनीयर सोबिन घर्तीले जानकारी दिनुभयो । उहाँका अनुसार निर्माण व्यवसायीले नगरपालिकाबाट गरेको फोनसमेत नउठाउने गरेको पाइएको बताउनुभयो । उहाँले नगरपालिकाले चेतावनीपत्र पठाउने तयारी थालेको उहाँको भनाइ छ ।
पटक–पटक म्याद मात्रै थपेर निर्माण व्यवसायी फर्केको जनाउँदै अहिले अस्पताल भवनमा इँटा झारेर काम नगरेको पाइएको हो । अस्पताल भवन निर्माणमा ढलानको काम मात्रै सकेर पर्खालको काम बिचमै निर्माण व्यवसायीले अलपत्र पारेर छोडेको छ । रु १२ करोडको भवनमा फ्याट्टफुट्ट कामदार लिएर काम गर्दा भवनले गति नलिएको हो । भवनको ५६ प्रतिशत भौतिक र ५२ प्रतिशत वित्तीय प्रगति भएको इञ्जीनीयर घर्तीको भनाइ छ ।
बागलुङ–१३ पैँयूपाटामा निर्माणाधीन १५ शय्याको बागलुङ नगर अस्पताल दुई वर्षभित्र निर्माण सक्नेगरी २०७८ मा सम्झौता भएको थियो ।
बागलुङ नगरपालिकाका इञ्जीनीयर सोविन घर्तीका अनुसार २०८० असार २० गते निर्माण सकेर हस्तान्तरण गर्नेगरी सम्झौता भए पनि तीन पटक म्याद थप हुँदासमेत ५६ प्रतिशत प्रगति भएको बताउनुभयो । बागलुङ नगरपालिकाले अस्पताल भवन निर्माणका लागि रु १२ करोड ८७ लाखमा श्री महालक्ष्मी÷जुगल जेभीसँग २०७८ असार २३ गते सम्झौता गरेको थियो ।
काम गरेको भुक्तानी समयमै नपाएको, कच्चा सामग्री आयातमा सडकको अवरोध रहेका कारण निर्माणमा ढिलाइ भएको निर्माण व्यवसायी नरेश ओझाले जानकारी दिनुभयो । “काम गर्दा समयमै भुक्तानी पाइदैन बर्खामा सामग्री ढुवानीमा समस्या हुन्छ, गलुवाको पहिरोका कारण अहिले इँटा ढुवानीमा समस्या भएको छ”उहाँले भन्नुभयो ।
छ महिनाभित्र काम सक्नेगरी निर्माणलाई तीव्रता दिने निर्माण व्यवसायीको भनाइ छ । स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी नगर अस्पताल बनाएर सेवा दिए पनि भवन अभावले समस्यामा परेको छ । निर्माण व्यवसायीलाई ताकेता गरिरहेको भए पनि काममा आउने फर्कने र पाँच÷छजना कामदार मात्रै खटाउने गरेको बागलुङ नगरपालिका–१३ का वडाध्यक्ष नारायण पौडेलले बताउनुभयो ।
निर्माण व्यवसायीको ढिलासुस्तीका कारण अस्पताल भवन निर्माण कहिले सकिने टुङ्गो लाग्न नसकेको हो । सरकारले प्रत्येक पालिकामा १५, १० र ५ शय्याको आधारभूत अस्पताल निर्माण गर्ने लक्ष्यअनुसार नगर अस्पताल निर्माण थालिएको थियो । अस्पतालको प्रवेशद्वार, पार्किङलगायत संरचनासहित तीन तलाको विद्युतीय भ¥याङसहितको अस्पताल निर्माण गर्ने सम्झौतामा उल्लेख छ । बागलुङ नगरपालिकाको रायडाँडा, पैँयूपाटा, अमलाचौर र नारायणस्थनका बासिन्दालाई अस्पताल निर्माणसँगै स्वास्थ्य सेवा लिन सहज हुनेगरी नगर अस्पताल घोषणा गरेर सेवा दिन थाले पनि भवन निर्माणमा ढिलाइ हुँदा पूर्ण सेवा दिन नसकिएको हो ।