07/18/2025, 14:13:17

वीरगञ्जमा निःशुल्क धारा जडान र धरौटी शुल्कमा छुट


वीरगञ्ज (पर्सा), २ साउन : खानेपानी मन्त्रालयअन्तर्गतको नेपाल खानेपानी संस्थानवीरगञ्ज महानगरपालिकाबीच वीरगञ्जमा खानेपानी सेवा विस्तारका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

खानेपानीमन्त्री प्रदीप यादवको विशेष उपस्थितिमा नेपाल खानेपानी संस्थानका तर्फबाट महाप्रबन्धक अर्जुनबाबु ढकाल तथा वीरगञ्ज महानगरपालिकाका तर्फबाट वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले उक्त समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो ।

उक्त समझदारीअनुरूप अबदेखि नयाँ उपभोक्तालाई धारा जडान प्रक्रिया सहज, सरल र प्रभावकारी बनाइने तथा सेवा लिने नागरिकलाई निःशुल्क धारा जडान गरी नयाँ जडानका लागि लाग्ने धरौटी शुल्कमा छुट प्रदान गरिने व्यवस्था गरिएको मन्त्री यादवले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “संस्थानको वीरगञ्ज शाखामा आवश्यक जनशक्ति अभिवृद्धि गरिनेछ, जसबाट त्यहाँको खानेपानी समस्या समाधान गर्न सहयोग पुग्नेछ ।” यस समझदारीपत्र हस्ताक्षरले वीरगञ्जवासीको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने विश्वास लिइएको मन्त्री यादवले बताउनुभयो ।

वीरगञ्ज महानगरपालिकासहित तराई–मधेसका जिल्लामा दिनप्रतिदिन विकराल बन्दै गएको खानेपानी समस्याको तत्काल तथा दीर्घकालीन समाधानका लागि मन्त्रालय, विभाग तथा खानेपानी संस्थान अहोरात्र खटिएको छ ।

समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा वीरञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, खानेपानी मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ, सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन पर्सा प्रमुख विपुल दास, नेपाल खानेपानी संस्थान पर्सा प्रमुख प्रवीन साह, नेपाल खानेपानी संस्थान बारा प्रमुख सञ्जीव यादव, वीरगञ्ज महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्ण, नेपाल खानेपानी सस्थानका बोर्ड सदस्यलगायतको सहभागिता रहेको थियो ।