07/17/2025, 19:09:46

उपचारको पखाईमा कुष्ठरोग लागेका धनवीर


सिमकोट (हुम्ला), १ साउन : यहाँको सिमकोट गाउँपालिका–८ याङ्गुका ५६ वर्षीय धनवीर कामी वर्षौँदेखि कुष्ठरोगबाट ग्रसित हुनुहुन्छ । उपचारको सट्टा परिवारले छुट्टै राखेको उहाँ अहिले हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएको छ । तर हालसम्म उहाँको उपचार हुन सकेको छैन ।
कामीलाई कुष्ठरोग लागेको छ वर्ष भएको र अहिले अवस्था नाजुक भएको नेपाल रेडक्रस सोसाइटी हुम्ला शाखाका मन्त्री अर्जुन बोहराले बताउनुभयो । कुष्ठ रोग लागेको सुरुका दुई वर्षसम्म हिँडडुल गर्न सक्ने हुँदा जिल्ला अस्पताल पुगेर आवश्यक उपचार गराउनु भएको थियो ।
चार वर्षयता भने उहाँको  उपचार हुन सकेको छैन । आर्थिक अवस्था कमजोर भएकाले उहाँको उपचार हुन नसकेको हो । कान कम सुन्ने उहाँ हिँडडुल गर्नै नसक्ने भएपछि शौच गर्न पनि घिस्रेर जाने गर्नुहुन्छ ।
घरको छतमा सानो कोठा बनाएर राखिएको उहाँलाई झुत्रा कपडा ओढ्ने ओछ्याउने व्यवस्था गरिएको छ । उहाँका दुई भाइले एक एक महिनाको आलोपालोमा खानाको व्यवस्था गर्दै आउनुभएको छ ।
कामीले आफूसँग इसारा गर्दै उपचारमा सहयोग गर्न आग्रह गरेको सोसाइटी हुम्ला शाखाका मन्त्री बोहराले बताउनुभयो । आफैँ उपचार गर्न जाने अवस्था नभएका कामीलाई सहयोगी निकायको आवश्यकता छ । कामीलाई सिमकोट गाउँपालिकाले अपाङ्गता परिचयपत्र उपलब्ध गराएको छ । तर हालसम्म कतैबाट सहयोग प्राप्त भएको छैन ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..