07/16/2025, 20:36:10

पेस्तोल देखाउँदै लुटपाट गरेको आरोपमा भारतीय नागरिक पक्राउ


३२ असार, जनकपुरधाम : लुटपाटमा संलग्न एक भारतीय नागरिकलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । बुधबार मधुवनी देवधा–८ का २३ वर्षीय विजय मुखियालाई धनुषा प्रहरीले नियन्त्रणमा लिइएको हो ।

उनीमाथि यही असार २० गते जनकनन्दनी गाउँपालिका १ का अजय कुमार गोइतको नगद दुई लाख १६ हजार, १२ लाख १० हजारको चेक र आइफोन १६ लुटपाट गरेको आरोप छ ।

गोइत बैंकमा पैसा जम्मा गर्न जाने बेला बाटो छेकी मुखियाले पेस्तोल देखाई लुटपाट गरेको प्रहरी अनुसन्धानले देखाएको छ । मुखिया पेशेवर लुटेरा रहेको धनुषाको एसपी नरहरि रेग्मीले बताए ।

भारतमा पनि मुखियमाथि ९/१० वटा मुद्दा रहेको छ,’ एसपीले भने, ‘भारतमा लुटपाट गरेर नेपाल लुक्छ्न् । नेपालमा गरेर भारत लुक्छन् ।’ उनीमाथि जिल्ला अदालत धनुषाबाट ५ दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।