मन्थली (रामेछाप), ३२ असारः मन्थली नगरपालिका वडा नं–८ चिसापानीका किसानले बाँदरको समस्या समाधानका लागि व्यावसायिक रुपमा बेसारखेती सुरु गरेका छन् । बारीमा लगाएको मकैमा बाँदरले आक्रमण गरेपछि उनीहरुले त्यसको विकल्पमा बेसारखेती सुरु गरेका हुन् ।
बेसार बिक्रीबाट राम्रै आम्दानी हुन थालेपछि किसानहरु त्यसतर्फ आकर्षित भएका हुन् । हाल स्थानीय बजारमा बेसार प्रतिकिलो रु ३०० सम्म बिक्री हुने गरेको छ ।
नगदेबालीका रुपमा लिइने बेसारखेतीबाट राम्रो आम्दानी हुने गरेको किसान श्रीप्रसाद घिमिरे बताउनुहुन्छ । “बाँदरकै कारण गाउँ रित्तिन थालेको छ, धेरै मानिसहरु बसाइ सरिसकेका छन्, मैले विकल्पमा १० रोपनीमा बेसारखेती गरेको छु”, उहाँले भन्नुभयो । आफूहरुले अभियानकै रुपमा बेसारखेती गरेको र थप जमिनमा रोप्ने तयारी पनि गरिरहेको उहाँको भनाइ छ ।
बसाइँ सरेपछि यहाँका बाँझा बारीमा पछिल्लो समय बेसारखेती हुन थालेको उहाँको भनाइ छ । बाँदरबाट जोगाउनका लागि धेरै किसानले बेसारसँगै अमरिसोको खेती पनि गरिरहेका छन् ।