२८ असार, सप्तरी : साउन लाग्दै गर्दा पनि सप्तरीका सयौं हेक्टर खेतहरू अझै सुक्खै छन्। धानको बीउ तयार भए पनि खेतमा पानी छैन। किसान मूकदर्शक बनेर आकाशतिर हेरिरहेका छन्। बर्खाको भरमा जिउधन लगाउने कृषकहरू यस वर्ष वर्षा नआएपछि र सरकारी सहयोग नपाएपछि निराश छन्। तर, स्थानीय जनप्रतिनिधि भने आश्वासनको खोल ओढेर चुप छन्।
सप्तकोशी नगरपालिका–१० का किसान ललित यादव भन्छन्, “पाँच कट्ठा खेत तयार छ, बीउ उम्रिसक्यो। तर पानी छैन। नहर बिग्रेको छ, नगरपालिका चुप छ। खेतमा होइन, मनमा भिजेको आँसुको पानी मात्रै छ अहिले।”
यस वर्ष असारभर राम्ररी वर्षा नहुनु र वैकल्पिक सिँचाइ योजनाहरू निष्क्रिय रहनु समस्या बन्यो। अधिकांश ठाउँमा सिंचाइका नहरहरू क्षतिग्रस्त छन्, पम्पसेट छैनन्, कुलोमा झार मात्र उब्जिएको छ। किसानहरू पालैपालो वडाध्यक्ष, प्रमुख र सांसदसम्मको ढोका ढकढक्याउँछन्, तर सुनुवाइ छैन।
धेरै पैसा योजनामा, तर पानी छैन खेतमा
सप्तकोशी नगरपालिकाले यो वर्ष करोडौं रुपैयाँ विकास योजनामा विनियोजन गर्यो। पर्खाल, गेट, मोटरेबल सडक र रंगीन बोर्डहरूमा बजेट खर्च भइरहेछ। तर खेतमा पानी पुर्याउने कुनै कार्यक्रम देखिन्न।
सप्तकोशी–११ को कृषक सुरेश मण्डल भन्छ्न, “धान रोप्न नपाएर बीउ सुक्न लागिसक्यो। हामी किसानलाई यो भन्दा ठूला यातना केही हुँदैन। योजनाको फोटो फेसबुकमा देखिन्छ, तर खेतमा पानी छैन।”
नगरपालिकाले ‘कृषिमा आधुनिकीकरण’ भनेर बजेट राखे पनि त्यो देखावटी साबित भएको छ। सोलारपम्प, डिप बोरिङ वा कुलो मर्मतजस्ता जीवन्त योजना अझै फाइलमा अल्झिएका छन्।
कृषिमा उपेक्षा, भाषणमा ‘किसान देशको मेरुदण्ड’
चुनावी भाषणमा किसानलाई देशको मेरुदण्ड भनिन्छ। तर जब खेत सुक्छ, किसानको आवाज सुनिँदैन। महंगीले छुनै नसक्ने रासायनिक मल, ढिलो हुने बीउ वितरण, अव्यवस्थित सिँचाइ प्रणाली र अनुत्तरदायी जनप्रतिनिधिको मिलेमतोमा किसानको भविष्य सुक्दै गएको छ।
किसान रामदेव मण्डलको भनाइमा, “जब पानी आउँदैन, रोपाइँ रोकिन्छ। जब रोपाइँ रोकिन्छ, ऋण थिच्छ। अनि हामी रोउछौँ — सरकार सुनुँदैन।”
अब किसान आन्दोलनको तयारीमा
पानी माग्दै किसानहरूले आन्दोलन गर्ने तयारीमा छन्। किसान राजु मण्डल भन्छन्, “सप्तकोशीमा गेट त बन्यो, तर खेत सुक्यो। अब पानीको व्यवस्था नभए नगरपालिका घेरिन्छ।”
अर्का एक किसान नेताको चेतावनी छ, “किसान रोएर होइन, बोलेर अधिकार लिन्छ। आन्दोलन नगरी पानी आउँदैन भन्ने अवस्था बनाइएको छ।”
नगर प्रमुखसँग प्रश्न गर्दा उहाँले भन्नुभयो — “कृषि अनुदानमार्फत सिँचाइ उपकरण ल्याउने सोच बनाउँदैछौँ। किसानहरूले धैर्य गर्नुहोस्।”
तर स्थानीय किसानहरू भन्छन्, “अहिले चाहिएको पानी हो, आश्वासनले रोपाइँ हुँदैन।”
समाधान नदिने हो भने, किसान सडकमै आउँछन्
कृषि विज्ञहरूको चेतावनी छ — यदि तत्काल वैकल्पिक सिँचाइको व्यवस्था नगरिए, उत्पादनमा व्यापक गिरावट आउँछ, जसको असर खाद्य सुरक्षादेखि स्थानीय अर्थतन्त्रसम्म पर्छ।
तर, जनप्रतिनिधि र सरकार अझै मौन छन्। किसान खेततिर हेरिरहेका छन् — सरकार सडकमै बोल्ने दिनको प्रतीक्षामा।
निष्कर्ष —
किसान खेतमा छन्, पानी मागिरहेका छन्। जनप्रतिनिधि कार्यालयमा छन्, कार्यक्रम गर्दै छन्। आकाशबाट वर्षा नझरे पनि, सरकारको नीति र व्यवहारले अवश्य पानी बगाउन सकिन्छ। तर त्यसका लागि इच्छाशक्ति चाहिन्छ, जुन हाल देखिँदैन।
सप्तकोशीको सुक्खा खेतहरूले प्रश्न उठाइरहेका छन् —
“हामी मर्ने कि रोप्ने?”
सप्तकोशीका खेतहरू बोलिरहेका छन् —
“हामी सुक्यौं, अब हाम्रो आवाज सुन्ने बेला आयो!”
जनप्रतिनिधिहरू सुन्न तयार भए राम्रो, नत्र किसानहरूले अब चुप लाग्ने छैनन्। पानी किसानको अधिकार हो, दया होइन।
– कैलाश माझी, सप्तरी