नारायणगढ (चितवन), २८ असारः चितवनको रत्ननगरस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनाको अवधिमा एक लाख सात हजार ४३९ पटक स्वास्थ्य सेवा प्रदान गरेको जनाएको छ ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक विवरणअनुसार अस्पतालको बहिरङ्ग (ओपीडी) सेवाबाट ४४ हजार ९७२ जनाले सेवा लिएका छन् भने अल्ट्रासाउन्ड सेवा ५३ जना र अन्तरङ्ग सेवा ३२ जनाले लिएका छन् ।
अस्पतालले पूर्वकर्म÷पञ्चकर्ममार्फत ४१ हजार ४३९ सेवा प्रवाह गरेको जनाएको छ । अस्पतालकी प्रमुख डा कोपिला अधिकारीका अनुसार स्तनपायी आमालाई ८८१, जेष्ठ नागरिकलाई छ हजार ८०७, योग सेवामा एक हजार १३०, प्याथोलोजी सेवा छ हजार १६, नागरिक आरोग्य चार हजार २७०, अकुपञ्चर सेवा एक हजार सात र फिजियोथेरापी ८३२ पटक सेवा प्रदान गरिएको छ ।
सेवा लिनेमा महिलाको सङ्ख्या पुरुषभन्दा बढी रहेको प्रमुख अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “पुरुषको तुलनामा महिला नियमित रूपमा सेवा लिन आउनुहुन्छ । महिलामा आयुर्वेदप्रतिको आकर्षण बढी देखिएको छ ।”
चिकित्सालय अन्तर्गतको आयुर्वेद औषधि उत्पादन केन्द्रबाट हाल १० प्रकारका औषधि उत्पादन भइरहेको र अन्य औषधि सिंहदरबार वैद्यखानाबाट ल्याइने जानकारी दिइयो । अस्पतालमार्फत २७ प्रकारका गुणस्तरीय औषधि निःशुल्क वितरण गरिने गरिएको छ, जसले विशेषगरी नसर्ने रोगहरूको उपचारमा प्रभावकारी भूमिका खेलेको प्रमुख अधिकारीको भनाइ छ ।
बालबालिकालाई लक्षित गरी अस्पतालले प्रत्येक महिना स्वर्णबिन्दु प्राशन कार्यक्रम सञ्चालन गर्दै आएको छ । ६ महिनादेखि पाँच वर्ष उमेर समूहका बालबालिकालाई दिइने यो परम्परागत आयुर्वेदिक औषधिले प्रतिरक्षा प्रणाली सुदृढ बनाउने डा अधिकारीको भनाइ छ । डा अधिकारीका अनुसार शिवघाट, देवघाट, गुञ्जानगर, पटीहानी, माडी, मेघौली, डालेटार र वीरेन्द्रनगरमा आयुर्वेद औषधालय सञ्चालनमा छन् । भरतपुरको शिवनगरबाट जीवनशैली सेवा प्रदान गरिँदै आएको छ भने कालिका, खैरहनी र इच्छाकामनामा नागरिक आरोग्य केन्द्रमार्फत सेवा विस्तार गरिएको छ ।
कार्यक्रममा चिकित्सक डा सुमन खनाल र डा देवेन्द्रकुमार यादवले नयाँ भवनबाट सेवा प्रवाह गर्दा थप सुविधा पुगेको र सेवा गुणस्तरमा उल्लेखनीय सुधार आएको बताउनुभयो । उहाँहरूले आयुर्वेद सेवाको थप प्रचारप्रसार आवश्यक रहेकोमा जोड दिनुभयो ।
अस्पतालका अध्यक्ष राजेन्द्र अधिकारीले सञ्चारमाध्यममार्फत आयुर्वेदसम्बन्धी जानकारी जनस्तरसम्म पु¥याउन सके अझ बढी नागरिक लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा पत्रकारले अस्पतालको सेवा र गुणस्तरबारे सुझाव र प्रतिक्रिया राखेका थिए ।