भोजपुर, २८ असारः भोजपुरको पौवादुङमा गाउँपालिकाले ‘एक घर एक फलफूल’ बगैँचा कार्यक्रम सञ्चालन गर्ने भएको छ । कृषकलाई फलफूलको माध्यमबाट आयआर्जनमा जोड्न गाउँपालिकाले ‘एक घर एक फलफूल’ बगैँचा कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
फलफूलका खेती लागि उपयुक्त भूगोललाई लक्षित गरेर कार्यक्रम सञ्चालन गर्न लागिएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिनुभयो । बजेट नै व्यावस्थापन गरिएकाले आगामी आर्थिक वर्षबाट कार्यक्रम सञ्चालन हुने अध्यक्ष राईले बताउनुभयो । यो कार्यक्रमार्फत किसानलाई मागको आधारमा भूगोलअनुसारको विरुवा वितरण गरिने अध्यक्ष राईको भनाइ छ ।
“हामीले एक घर एक फलफूल बगैँचाको कार्यक्रम सञ्चालनको तयारी गरेका छौँ” अध्यक्ष राईले भन्नुभयो, “यसको मुख्य उद्देश्य किसानलाई फलफूल खेतीको माध्यमबाट आयआर्जनमा जोड्ने हो । किसानलाई उनीहरुको मागको आधारमा विरुवा वितरण गछौँ । किसानले विरुवा माग गरेपछि जमिन र भूगोलको अनुगमन गरेर प्राविधिकले ठिक छ भनेपछि मात्र विरुवा वितरण हुन्छ ।”
गाउँपालिकाले यसअघि थालेको अकबरे खुर्सानी खेतीको कार्यक्रम किसानको लागि लाभदायक बनेपछि आगामी वर्षको लागि व्यावसायिक फलफूल खेतीको कार्यक्रम अघि बढाइएको अध्यक्ष राईको भनाइ छ । गतवर्ष अकबरे(डल्ले) खुर्सानीबाट गाउँपालिकामा रु १८ करोड बराबर रकम भित्रिएको उहाँको भनाइ छ ।
गाउँपालिकमा फलफूल खेतीको अधिकांश उपयुक्त भूगोल रहेकोले यो कार्यक्रम सञ्चालनको तयारी गरिएको अध्यक्ष राईले बताउनुभयो ।

यो कार्यक्रम विरुवा रोप्ने मात्र नभएर ‘रोप्ने, हुर्काउने’ अभियानमा केन्द्रीत हुने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो । किसानले बगैँचामा विस्तारको लागि विरुवा माग गरेपछि सुरुदेखी विरुवा नहुर्किएसम्म प्राविधिकले नियमित अनुगमगन गर्ने व्यवस्था मिलाइएको उहाँको भनाइ छ ।
“हामीले विस्तृत कार्ययोजना निर्माण गरेर नै यो कार्यक्रम सञ्चालन गर्न लागेका हौँ” प्रशासकीय अधिकृत भट्टराईले भन्नुभयो, “यो कार्यक्रमको नारा नै ‘रोप्ने हुर्काउने’ रहेको छ । किसानबाट विरुवाको माग भएदेखि जमिन तयार नभएर बिरुवा नहुर्केसम्म प्राविधिकबाट अनुगमन हुन्छ ।”
प्राविधिकले मल लगाउने, हेरचाह गर्ने, रोग किराबाट बचाउने उपायको बारेमा किसानलाई स्थलगत रूपमा नै सेवा दिने उहाँको भनाइ छ । कुनै कारणले विरुवा मरेमा त्यसकोसमेत तथ्याङ्क कृषि प्राविधिकले राख्ने उहाँले जानकारी दिनुभयो । त्योसँगै विरुवा मर्नुको कारणसमेत पहिचान गरिने उहाँको भनाइ छ ।
गाउँपालिकाका छ वटै वडामा कार्यक्रम सञ्चालनको लागि करिव रु ४० लाख बजेट विनियोजन गरिएको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले जानकारी दिनुभयो । यो कार्यको लागि गाउँपालिकाका प्रविधिकसँगै यहाँका विद्यालयमा कृषि विषय पढिरहेको विद्यार्थीलाई पारिश्रमिक दिएर परिचालन गरिने उहाँको भनाइ छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










