07/11/2025, 15:01:51

पर्साको तिलाबे नदीमा भएन बेलिब्रिज जडान


वीरगञ्ज (पर्सा), २७ असारः सडक विभागले पर्साको तिलाबे खोलामा यो वर्ष पनि बेलिब्रिज जडान गर्ने घोषणा गरे पनि त्यो पूरा भएको छैन । विभागले भनिएको ‘स्टिल बेलिब्रिज’को बोलपत्र रद्द गरेको छ ।

विसं २०८१ को वर्षायाममा बाढीले पर्साका ग्रामीण भेगलाई जोड्ने वीरगञ्ज महानगर बहुदरमाई नगरपलिकाको सिमानामा रहेको तिलाबे पुलमा क्षति हुँदा आवतजावतमा समस्या भएको छ ।

बाढीले तिलाबे पुलको फाउण्डेसनसँगै रहेको पिलरमा क्षति भएपछि पुल जोखिममा छ । हाल पुलबाट सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

यहाँको नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख मनोजकुमार पटेलले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट तिलाबे खोलामा स्टिल बेलिब्रिज उपलब्ध हुन नसकेपछि सडक ‘एप्रोच’ र जडानका लागि आह्वान गरिएको ठेक्का रद्द भएको जानकारी दिनुभयो ।

यसअघि सडक विभागले चालु आर्थिक वर्षभित्रै सम्पन्न हुने गरी बेलिब्रिज जडान र एप्रोच सडक निर्माणका लागि रु तीन करोड ३० लाखको ठेक्का आह्वान गरेको थियो”, उहाँले भन्नुभयो, “एक साताभित्रै स्टिल बेलिब्रिज जडान गर्ने गरी बोलपत्र आह्वान गरिएको थियो । तर, वर्षायाम सुरु भइसकेकाले काम रोकिएको हो ।

कार्यालय प्रमुख पटेलले आव सुरु हुने बित्तिकै तिलाबे पुलको सडक एप्रोच र बेलिब्रिज जडानको बोलपत्र पुनः आह्वानको प्रक्रिया अघि बढाइने जानकारी प्राप्त भएको बताउनुभयो ।