07/09/2025, 13:57:12

वीरगञ्जमा खानेपानीको सङ्कट : समस्याको दीर्घकालीन समाधानमा जोड


वीरगञ्ज (पर्सा), २५ असार : वीरगञ्ज महानगरमा लामो समयदेखि जारी खानेपानी सङ्कटको दीर्घकालीन समाधानमा महानगरवासीले जोड दिएका छन् ।

खानेपानीको समस्या दीर्घकालीन रूपमा समाधान गर्नुभन्दा तत्कालीन रुपमा केही दिन ट्याङ्कर तथा दमकमबाट पानी वितरण गरेर नहुने उनीहरूको भनाइ छ । वीरगञ्ज महानगरले ट्याङ्कर र पर्साको सखुवाप्रसौनी गाउँपालिकाले दमकलबाट पानी ओसारेर आपूर्ति गर्न थालेपछि सर्वसाधारणले दिगो समाधानमा जोड दिएका हुन् ।

वीरगञ्ज महानगरप्रमुख राजेशमान सिंह २०७९ सालको स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुँदा पनि वीरगञ्जमा खानेपानीको समस्या समाधान गर्न लागिपर्ने घोषणा पनि गर्नुभएको थियो । उहाँको चुनावी सभामा पर्साका प्रतिनिधिसभाका सांसद तथा खानेपानीमन्त्री प्रदीप यादवले पनि खानेपानीको दीर्घकालीन समाधान गर्ने घोषणा गर्नुभएको थियो । उहाँ नगरप्रमुखमा निर्वाचित भएको तीन वर्ष बित्दा पनि समस्या यथावत छ ।

वीरगञ्ज महानगर–१३ श्रीपुरका कैफुल मियाँ खानेपानीको सङ्कट समाधान गर्न महानगर अग्रसर नभएकामा खिन्न हुनुहुन्छ । “चापाकलमा एक थोपा पनि पानी आउँदैन यस्तै हो भने हाम्रो उठिबास हुनेछ ।

यहाँस्थित नेपाल खानेपानी संस्थानका प्रमुख प्रवीणकुमार साहले महानगरको खानेपानी समस्या दीर्घकालीन रुपमा समाधान गर्नेतर्फ ध्यान दिन जरुरी भएको बताउनुभयो ।

यहाँको खानेपानी सङ्कट चापाकल वा बोरिङ गरेर हुँदैन”, उहाँले भन्नुभयो, “ओभरहेड ट्याङ्की निर्माणदेखि पाइपलाइन विस्तारसम्मका काम गर्न आवश्यक छ । खानेपानीको लाइन भएकै ठाउँमा टोलटोलमा बोरिङ गरेर पानी वितरण पनि भइरहेको छ । एकीकृत रूपमा आपूर्ति व्यवस्थित हुनुपर्छ ।

महानगरप्रमुख सिंह मङ्गलबार साँझ वडा नं ११ अन्तर्गत विद्यापति नगर, श्रीपुर, रानीघाटलगायत प्रभावित टोलमा ट्याङ्कर लिएर पुग्नुभयो । “नगरवासीलाई पानीको अभावमा राखिन्न, जहाँ समस्या छ, त्यहाँ समाधानको प्रयास गर्नेछौँ”, उहाँले भन्नुभयो, “पानीको समस्या ३२ वटै वडामा रहेको र सबै वडामा समान रूपमा पानी पुर्याउने गरी संयन्त्र बनाएका छौँ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ